काठमाडौं । भूकम्पपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले थलिएको नेपालको अर्थतन्त्रमा रेमिट्यान्समा आएको ह्रासले आर्थिक वृद्धिदरमा नकरात्मक असर गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंक समूहले सार्वजानिक गरेको ‘नेपालको विकास अद्यावधिक’ प्रतिवेदन अनुसार कुल ग्राहस्थ्य उत्पादनको झन्डै ३० प्रतिशत बराबर भित्रिने रेमिट्यान्स घट्दा अर्थतन्त्रमा प्रभाव पर्ने भएको हो ।
भूकम्प र नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र मात्रै होइन विदेशिने कामदारको सङ्ख्यामा पनि क्रमशः ह्रास हुँदै गएको छ । बैंकका देशीय प्रबन्धक ताकुया कामाताले विभिन्न कारण विदेशिने कामदारको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको भन्दै नेपालको रेमिट्यान्स जोखिममा रहेको बताउनुभयो ।
रेमिट्यान्सको जोखिम उपयुक्त मौद्रिक एवम् वित्तीय नीतिमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिँदै वित्तीय क्षेत्रको सवल अनुगमन पनि अपरिहार्य हुने बताउनुभयो । बैंकले नेपालको आगामी वर्षको आर्थिक वृद्धि ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । पुँजीगत खर्च वृद्धिमा विशेष जोड दिएको छ ।
साथै प्रतिवेदनले आर्थिक गतिविधिको विविधीकरण गर्नुपर्ने सुझाव पनि दिएको छ ।