झापा । मोटरसाइकलको लाइसेन्सका लागि आवेदनमा निरोगिताको प्रमाण दिँदा डाक्टरले सही छाप बेचेपछि नेपाल मेडिकल काउन्सीलले त्यस्को छानविन गर्ने भएको छ ।
यातायात व्यवस्था कार्यालय मेचीमा मोटरसाइकलको लाइसेन्सका लागि आवेदन दिँदा डा. एसके झाले एकै दिन हजारौंको निरोगिता प्रमाणपत्र वितरण गरेको समाचार बाहिर अाएपछि नेपाल मेडिकल काउन्सीलले चिकित्सकहरु सम्मिलित एउटा टोली छानविनका लागि झापा पठाउने भएको छ ।
काउन्सीलका रजिस्ट्रार डा. दिलिप शर्माका अनुसार विभिन्न सञ्चारमाध्यममा मेचीको लाइसेन्स प्रकरणमा चिकित्सकको लापरवाहीबारे समाचार प्रशारित तथा प्रकाशित भएपछि छानविनका लागि टोली पठाउन लागिएको हो ।
यसैविच जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले यातायात व्यवस्था कार्यालय मेचीको परिसर अगाडि रहेको स्वास्थ्य जाँच क्लिनिकको अनुगमन गरेको छ । अनुगमनका क्रममा उक्त क्लिनिक जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति विना सञ्चालित रहेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरेले बताए । उनले अनुगमनको प्रतिवेदन तयार गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउने बताए । नियम विपरित खुलेको उक्त क्लिनिकमा अनुगमन टोलीले सोधपुछ मात्र गरेको थियो । डा. झा सोही क्लिनिकमा बस्थे । अहिले अर्का डाक्टर दिपरञ्जन कुमार त्यहाँ बस्ने गरेका छन् ।
उनले समेत लाइसेन्सका लागि आवेदन दिँदा चाहिने निरोगिताको प्रमाण पत्रमा आफ्नो सही छाप बेच्ने गरेको पाइएको छ । उनले खाली अनुसूची फारमको बन्डलमै सही गरेर छोडने गरेका छन् ।