काठमाडौं, ३१ जेठ ।
व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिले ललितपुर जावलाखेलको चिडिया खाना साँघुरो भएको भन्दै चिडिया खाना विस्तार गर्न वन तथा भू–संरक्षण मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई निर्देशन दिएको छ ।
संसद सचिवालय सिंहदरवारमा सोमबार बसेको समिति बैठकले जावलाखेल स्थित सदर चिडियाखाना साघुरो भएकोले भक्तपुरकाे सूर्यविनायकमा विस्तार गर्न निर्देशन दिएको समिति सभापति डा रवि शर्मा अर्यालले जानकारी दिनुभयो ।
६ हेक्टर क्षेत्रफलमा फैलिएको जावलाखेलको चिडियाखानामा करिब १०४ प्रजातिका विभिन्न वन्यजन्तुहरु प्रदर्शनीमा रहेका छन् ।
‘हात्ती, गैडा, बाघ, भालु, हिप्पो, नीलगाई जस्ता ठुला स्तनधारी वन्यजन्तु लगायत विभिन्न प्रकारका अन्य वन्यजन्तुहरु रहेको उक्त स्थान ज्यादै साँधुरो हुन पुगेकोले सो चिडियाखानाको विस्तारको रूपमा भक्तपुर जिल्लाको सूर्य विनायकमा विस्तार गर्न र काठमाडौँ उपत्यका बाहेक उपयुक्त अन्य स्थानमा समेत चिडियाखानाको व्यवस्था गर्नका लागि कारबाही अगाडि बढाउन वन तथा भू–संरक्षण मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई निर्देशन दिने ।’ समितिको निर्णयमा भनिएको छ ।
समितिले केन्द्रीय चिडियाखाना प्राधिकरणको कानुनी व्यवस्थाको अभाव देखिएकोले चिडियाखाना सम्बन्धी छुट्टै कानुनको व्यवस्था गर्ने विधेयक तर्जुमा गरी व्यवस्थापिका–संसदमा तीन ९३० महिना भित्र पेस गर्न वन तथा भू–संरक्षण मन्त्रालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र नेपाल सरकार मन्त्रिपरिषद्लाई निर्देशन दिने निर्णय भएको सचिव अर्यालले जानकारी दनुभयो ।
वन तथा भू–संरक्षण मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारी सहित बसेको बैठकले नेपालका विभिन्न स्थानमा रहेको स–साना चिडियाखाना हरुको वर्तमान अवस्था, सङ्ख्या र नियमन सम्बन्धी अवस्था बारे एक महिना भित्र जानकारी उपलब्ध गराउन पनि भनेको छ ।