काठमाडौँ । भारतको नयाँदिल्ली स्थित गुडगाँउमा हालै सम्पन्न ‘वर्ल्ड स्पाइन सेभेन’ स्नायु विशेषज्ञको सम्मेलनमा नेपाली न्युरोसर्जन डा. अमित थापालाई प्रथम पुरस्कारद्वारा सम्मानित गरिएको छ ।
डा.थापाले स्पाइनल कर्डमा रहेको ट्युमर अत्यन्त कम क्षति पुर्याएर निकाल्ने तरिका बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा प्रस्तुत कार्यपत्रमा उनले स्पाइनमा देखिने ट्युमरहरु तुलनात्मक रूपमा अत्यन्त जटिल मानिने भएकाले तिनलाई निकाल्दा हाड काटेर निकाल्नुपर्ने र साथमा बिरामीले धेरै रकम खर्च गर्नुपर्ने अनि लामो समयसम्म आराम गर्नुपर्ने तुलनात्मक अध्ययन बारे चर्चा गरेका थिए ।
तर, पछिल्ला दिनहरूमा उपलब्ध ‘युनिल्याटरल लिमिटेड हम्मिल्यामाइनेक्टोमी’ लगायतका प्रविधिबाट ट्युमर निकाल्दा बिरामीले लामो समयसम्म अस्पताल बस्नु नपर्ने र घाउ समेत छिटो निको हुने साथमा उपचार खर्च पनि अत्यन्त कम लाग्ने कुरा समेत डा. थापाको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
स्पाइनका सबै प्रकृतिका ट्युमर निकाल्न भने यो प्रविधि उपयुक्त नहुन पनि सक्ने जिकीर गर्दै प्रस्तुतिमा न्युरोसर्जन डा. थापाले बिरामीको अवस्था अनुसार यो प्रविधि प्रयोग गरी उपचार गर्न सकिने बताएका छन् ।
नेपाल लगायतका अन्य विकासोन्मुख मुलुकका बिरामीहरूमा यस्ता प्रविधिको प्रयोग अत्यन्त उपयोगी हुने डा. थापाको ठहर छ । डा. थापा हाल ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा न्युरोसर्जन का रूपमा कार्यरत छन् ।