झापा । सरकारी कार्यालयका कर्मचारीहरुमा अख्तियारको त्रास पनि र घुसको आश पनि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख रविन्द्र शर्माले बताएका छन् । आइतबार झापाको भद्रपरस्थित जिल्ला विकास समितिको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अख्तियारको त्रास भएर पनि कर्मचारीहरुले भ्रस्टाचार गर्न नछाडेको उनले बताए ।
शर्माले स्थानीय निकायका बेरुजु तथा पेश्की तुरुन्त फस्र्याैट गर्न समेत निर्देशन दिए । उनले भस्टाचार गरीबीका कारण नभइ बेइमानीका कारण हुने गरेको बताए । उनले सामुदायिक बन उपभोक्ता समिति विरुद्ध धेरै उजुरी परेकाले ती बन समितिहरुलाई नियम अनुसार काम गर्न निर्देशन दिए । अख्तियारका उपसचिव नवीनकुमार जोशीले पूर्वाञ्चलमा सबभन्दा बढी उजुरी सुनसरीबाट आएको बताए । सुनसरीबाट ६८७, सप्तरीबाट ६६८, मोरंगबाट ५०६, झापाबाट ३४० र सिरहाबाट २७७ वटा उजुरी आएको उनले बताए । अख्तियारका अनुसार उक्त तथ्यांक विगत तीन बर्ष यताको हो ।
झापाका नापी तथा यातायात व्यवस्था कार्यालयमा भ्रस्टाचार र अनियमितता भइरहेको सर्वसाधारणले गुनासो गरेका थिए । विचौलिया विना काम नहुने गरेको र विचौलियालाई पैसा नदिइ काम नहुने गरेको उनीहरुले औंल्याएका थिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी नेउपानेले सरकारी सेवामा रहेका प्रहरीलाई कमिसन दिने परिपाटी भ्रस्टाचार घटाउने कुरामा बाधक रहेको बताए ।
अन्य सहभागीहरुले सामुदायिक विद्यालय, सडक निर्माण तथा जिल्ला विकास समितिका प्राविधिक कार्यालयमा अनियमितता हुने गरेको बताएका थिए । अख्तियारका पूर्वाञ्चल प्रमुख शर्माले नापी, मालपोत तथा यातायात व्यवस्था कार्यालय मेचीका प्रमुखसंग छुट्टै छलफल समेत गरेका थिए ।