झापा। गायिका सुनिता गुरुङले एल्बम विमोचनमा हुने खर्च धुर्मुस सुन्तली फाउण्डेशनलाई दिएकी छिन् । गिरान्चौर एकिकृत बस्तीमै पुगेर उनले आफ्नो गीति एल्बम प्यास विमोचन गर्दै ५१ हजार रुपैँया गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेकी हुन् ।
यस अघि रमाइलो पोखरा बोलको पहिलो एल्बम धुमधामका साथ विमोचन गर्दा ५० हजार भन्दा बढी खर्च भएकाले यसपाली हुने खर्च सामाजीक कामका लागि प्रदान गरिएको गायिका गुरुङको भनाई छ । सिन्धुपाल्चोकको मेलम्ची गिरान्चौरमा बस्तीमा आएर एल्बम विमोचन गर्दा त्यो रकम बचेकाले एकिकृत बस्ती निर्माणका लागि हस्तान्तरण गरीएको उनले बताएकी छिन् ।
राम चन्द्र काफ्ले र सुनिता गुरुङको स्वर रहेको उक्त एल्बम हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले निर्माणाधिन गिरान्चौर एकिकृत नमुना बस्तीमा नै विमोचन गरेका छन् । गीति एल्बम विमोचन कार्यक्रममा रंगपत्रकार विदुर गिरी, उक्त गीतको म्युजीक भिडियो छाँयाकार एवं निर्देशक सुदिप बराललगायतको पनि उपस्थिति रहेको थियो ।
छाँयाकार बरालकै नेतृत्वमा गायिकाले गिरान्चौर पुगेर एल्बम विमोचनको साथमा सहयोग हस्तान्तरण गरेकी हुन् । गायिका गुरुङले आर्थिक सहयोगको साथमा केहि घण्टा बस्ती निर्माणमा श्रमदान समेत गरेकी थिइन् ।