दमक । असार १४ गते हुने दोश्रो चरण अन्तर्गतको स्थानीय तह निर्वाचनका लागि झापामा उम्मेद्वारीका लागि मनोनयन दर्ता सुरु भएको छ ।निर्वाचन आयोगले मनोनयन दर्ता बिहान ८ बजेदेखि खुला गरे संगै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमकमा एमाले उम्मेद्वारी दर्ता सम्पन्न गरेको छ ।
एमालेले दमक नगरपालिकाको १० वटै वडामा ५२ जना जनप्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएको छ । एमालेका तर्फबाट प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा गीता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै वडा नम्बर १ को अध्यक्षमा हरि प्रसाद न्यौपाने, २ मा प्रजापति सप्पकोटा, ३ मा नविन बराल, ४ मा कुमार सम्सोहाङ्ग, ५ मा इन्द्र बहादुर गुरुंग, ६ मा टेक बहादुर थापा, ७ मा नर्वदा देवी सिवाकोटी, ८ मा पशुपतिराज गौतम, ९ मा राम बहादुर धिमाल र ९ मा बोधराज न्यौपानेले वडाअध्यक्षका लागि उम्मेद्वारी दर्ता गराएका छन्।
एमालेले मनोनयन अगाडि दमकमा बाजागाजा सहितको र्याली निकालेको थियो । दमकमा एमालेपछि कांग्रेसले अहिले उम्मेद्धारी मनोनयन दर्ताको काम गरिरहेको नगर प्रमुखका उम्मेद्धार ढुण्डि भण्डारीले जानकारी दिनुभयो । कांग्रेसको पछि राप्रपा र माओवादी केन्द्रलाई मनोनयन दर्ताको समय छुट्याएको निर्वाचन अधिकृत वेदराज फुयालले जानकारी दिनुभयो ।
यस्तै केही स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र तर्फबाट वडा नम्बर ७ को वडा अध्यक्षमा युवराज लिम्बुले उम्मेद्वारी दर्ता गर्नु भएको छ । तराईका जिल्लाहरुमा संघीय गठबन्धनले मनोनयन दर्ता विथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरे पनि झापामा आन्दोलनको कुनै प्रभाव परेको छैन । यसैगरी झापाको बिर्तामोड, भद्रपुर लगायतमा उम्मेद्धार मनोनयन प्रक्रिया जारी रहेको निर्वाचन अधिकारी गोपाल आर्चायले जानकारी दिनुभयो ।