मतदाता शिक्षालाई बढी प्रभावकारी बनाउन आम सञ्चारमाध्यम, राजनीतिक दल, उम्मेदवारहरूको पनि पर्याप्त सहयोग हुने विश्वास आयोगले लिएको छ । दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउन मतदाता शिक्षा कार्यकर्तालाई बढी जिम्मेवार बनाइएको छ । मतदान केन्द्रमा सक्कलै मतपत्र अवलोकलन गर्ने व्यवस्थासमेत मिलाइएको र विभिन्न स्थानीय भाषामा तयार पारिएका मतदाता शिक्षा सामग्रीहरू वितरण गरिएको छ । साथै विभिन्न कलाकारहरुबाट निर्वाचन सामग्रीहरू तयार गरी स्थानीय रेडियो, टेलिभिजनबाट प्रसारण गर्ने कामसमेत हुँदै आएको छ । साथै केही जिल्लामा सडक नाटक र नमूना मतदान कार्यक्रमसमेत सञ्चालन गरिएको छ । साथै महिला, दलित वा अल्पसङ्ख्यकको प्रतिनिधित्वलाई प्रोत्साहन गर्न विशेष मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ ।
आदरणीय मतदाता दिदीबहिनी तथा दाजुभाइहरू,
८. निर्वाचनमा आवश्यक पर्ने सबै सुरक्षा व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचन आयोगका पदाधिकारी, कर्मचारी, निर्वाचनमा खटिने कर्मचारी, मतदानमा प्रयोग हुने सामग्रीहरूको सुरक्षा, ढुवानी व्यवस्थापन, मतदान स्थलको सुरक्षा तथा मतदाता, राजनीतिक दलको कार्यालय, उम्मेदवार यी सबैको भरपर्दो सुरक्षा व्यवस्था हुने छ भन्नेमा आयोग विश्वस्त छ । सरकारले पहिलो चरणको निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखेर दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र निर्वाचन मैत्री बनाउन कुनै कसुर बाँकी राख्ने छैन भन्ने अपेक्षा आयोगले राखेको छ ।
९. स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले राष्ट्रिय पर्यवेक्षकहरूलाई अनुरोध गर्ने नीति अगाडि सारे अनुसार दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका करिब सात हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइसकिएको छ । आयोगले वैशाख ३१ मा सम्पन्न भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका १२ वटा कूटनीतिक नियोगका सदस्यलाई काठमाडौं उपत्यकामा अध्ययन भ्रमणका लागि अनुमती दिएको थियो । दोस्रो चरणको निर्वाचनमा काठमाडौंमा रहेका कूटनीतिक नियोगका सदस्यहरूलाई देशका विभिन्न ८ वटा शहरमा निर्वाचन अवलोकनको व्यवस्था मिलाएकोमा २ नम्बर प्रदेशको निर्वाचन सरेकाले २ नम्बर प्रदेशका जनकपुर र बर्दिबासबाहेक प्रदेश नम्बर १ मा विराटनगर र धनकुटा, प्रदेश नम्बर ५ मा भैरहवा र पाल्पा तथा प्रदेश नम्बर ७ मा धनगढी र डडेलधुरामा अवलोकन भ्रमण गराउने तयारी भइरहेको छ ।
१०. निर्वाचनमा मतदान केन्द्रसम्मका घटनाक्रमलाई तत्कालै आयोगलाई जानकारी गराउन र आवश्यक निर्देशन दिन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) २०७४ वैशाख ३ गते नै स्थापना भइसकेको छ । साविकको जस्तै निर्वाचनसँग सम्बन्धित सूचना तथा जानकारीहरू सरल र सहज तरिकाले प्रदान गर्न निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन भइरहेको छ । केही संवेदनशील मतदान स्थललाई अत्याधुनिक प्रविधिको प्रयोग गरी आयोगबाट सोझै अनुगमनको व्यवस्था मिलाइएको छ । स्थानीय तह निर्वाचनको प्रयोजनका सूचना प्रवाहमा सहजता ल्याउन मिडिया सेन्टर सञ्चालनमा रहेको छ ।
आदरणीय पत्रकार मित्रहरू,
११. प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन तोकिएकै मिति असार १४ गते हुनेमा ढुक्क रहन म आयोगको तर्फबाट समस्त मतदाता, राजनीतिक दल, नागरिक समाज, आमसञ्चार जगत् र सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछु ।
१२. निर्वाचनमा आमसञ्चारका माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको छ । संविधानले प्रेसलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको छ । तसर्थ पूर्ण स्वतन्त्रताको उपभोग गरेका सञ्चार माध्यमले दिने समाचार सामग्रीबाट आम मतदाता लाभान्वित हुने छन् भन्ने आयोगले विश्वास लिएको छ ।
१३. अन्त्यमा भोलि असार ४ गते आइतबार तय भएको उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोगको तर्फबाट म पुनः राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसँग हार्दिक अपील गर्दछु । साथै मनोनयन कार्य शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालासँग मेरो विनम्र अनुरोध छ । धन्यवाद