विर्तामाेड । झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा झापामा चुनावी सरगर्मी बढेको छ । नयाँ जनप्रतिनिधि छान्न आम मतदाता आतुर देखिन्छन् ।
उम्मेदवार पनि मतदातालाई आफ्नो पक्षमा पार्न विविध गतिविधि गर्दै आएका छन् । साँस्कृतिक झाँकीदेखि लिएर जनप्रदर्शनसम्म भइरहेका छन् । सबै उम्मेदवारका प्रमुख एजेण्ड विकास र समृद्धि छ ।
दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा झापाका राजनीतिक दलहरुले आ–आफनो चुनावी घोषणा पत्रसहित घर÷घर पुगेर मत माग्ने कार्यलाई तीव्र गतिमा अघि बढाएका छन् ।

मतदाताले सामाजिक रुपमा स्थापित, विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन सक्ने उम्मेदवार आफूहरुको रोजाईमा पर्ने बताएका छन्।

झापामा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मुख्य प्रतिष्पर्धीको रुपमा देखिएका छन् । उद्यपि, जिल्लाको केही तहमा राप्रपाको पनि राम्रै पकड छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत सुर्दशन पाण्डेले मतदान स्थलको व्यवस्थापन, मतदान सामग्री, मतदाता शिक्षा, आवश्यक जनशक्तिलाई तालिमलगायतका काम अन्तिम चरणमा भइरहेको जनकारी दिए।

५ लाख १० हजार २ सय १६ मतदाता रहेको झापामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।

जसका लागी २ सय ८३ मतदान स्थलका तोकिएको छ । ती मध्ये ४८ वटा केन्द्रलाई सुरक्षा निकायले ‘अति संवेदनशील’ क्षेत्रको सूचीमा राखेर तीन तहको सुरक्षा व्यवस्था मिलाएको छ ।
