विर्तामोड । झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा जेब्राक्रसको संकेत गर्ने बोर्ड भएको ठाउँमा दलका चुनाव चिन्ह अंकित झण्डा लगाइएको छ । विर्तामोडको अव्यवस्थित मुक्ति चोकलाई व्यवस्थित गर्दे भन्दै दलका मेयर तथा उपमेयरका उम्मेदवार भोट मागिरहेका बेला तिनै उम्मेद्वारका झण्डा जेब्राक्रसको संकेत गर्ने बोर्डको ठाउँमा लगाइएको हो ।
त्यतिमात्र होइन सडकमा देब्रे र दाहिने लेन छुट्याउन राखिएका डिभाइडरमा समेत दलका झण्डा छन् । जसका कारण सवारी आवागमनमा समस्या उत्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
डिभाइडरमा राखिएका झण्डा कहाँ पुगे तर त्यहाँका बाँसका भाटा भने त्यहीँ छन् । एक त विर्तामोड साँघुरो त्यहीमाथि बांगो परेका बाँसका भाटा जोगाएर सवारी हाँक्दा दुर्घटनाको जोखिम उच्च रहेको भनाइ ट्राफिक प्रहरीको छ ।

निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार निर्वाचन प्रचारका लागि दलहरुले सार्वजनिक, धार्मिक, ऐतिहासिक, संस्कृति पुरातात्विक स्थल, सार्वजनिक सडक खम्बा आदिमा चुनाव प्रचारप्रसार सामग्री राख्न नपाइने उल्लेख छ ।
निर्वाचन आचार संहिता अनुगमन अधिकृत इन्द्र योङहाङले दलहरुलाई त्यस्ता स्थानका झण्डा निकाल्न लगाउने बताए ।