झापा । साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको उम्मेदवार चयन गरेको छ। इटहरीको नगर प्रमुखमा डा. तारा काफ्ले र उपप्रमुखमा प्रकाशचन्द्र परियारलाई उम्मेदवार चयन गरेको हो।
मेयर शिक्षक, उपमेयर पत्रकार !
नगर प्रमुखकी उम्मेदवार काफ्ले प्राध्यापन र समाजसेवामा संलग्न छिन् भने उपप्रमुखका उम्मेदवार परियाप पत्रकार तथा मानवअधिकारकर्मी हुन् ।
काफ्लेले जनसङ्ख्या तथा जनस्वास्थ्यमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन्।
ईटहरी उपमहानगरपालिका वडा नं ५ निवासी ३८ वर्षीया काफ्ले सेवामुलक विद्यालय ‘अमुर्त अक्याडमी’को संस्थापक अध्यक्ष हुन्।
काफ्ले हाल काठमाडौँ विश्वविद्यालय, विराट मेडिकल कलेज, टंकीशिनवारी, मोरङमा उपप्राध्यापकका रूपमा कार्यरत छिन्।
उपप्रमुखका उम्मेदवार प्रकाशचन्द्र परियार साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य हुन्।
सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा कार्यरत उनी एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका थिए।
आमसञ्चारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका उनले परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएका छन्।
पहिलो चरणको परिणाम
साझा पार्टीले पहिलो चरणको स्थानीय तह निर्वाचनमा काठमाडौँ र ललितपुर महानगरपालिकामा उम्मेदवारी दिएको थियो।
जसमा काठमाडौंका नगर प्रमुखका उम्मेदवार किशोर थापा चौथो स्थानमा रहे भने ललितपुरका उम्मेदवार रमेश महर्जन तेस्रो स्थानमा रहेका थिए।
दोस्रो चरणमा धेरै स्थानीय तहमा उम्मेदवारीका लागि सुझाव आए पनि इटहरीमा ध्यान केन्द्रित गरेको साझा पार्टीले जनाएको छ।
यसअघि पार्टीका संयोजक रविन्द्र मिश्र स्वयम् उम्मेदवार खोज्दै यहाँ आएका थिए ।