दमक । निर्वाचन आयोगको लापरवाहीका कारण झापा शिवसताक्षीका कविराज राईले दोस्रो चरणको निर्वाचनमा मत हाल्न नपाउने भएका छन् ।
जेठ २० गते शिवसताक्षी नगरपालिका– ११ को वडा अध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेर घरदैलो कार्यक्रममा हिँडिरहेका राईले निर्वाचन आयोगको लापरवाहीका कारण वडा अध्यक्ष उठ्न त के मत हाल्नसमेत नपाउने भएका हुन् ।
जनताको चाहनाअनुसार नै आफ्नो उम्मेदवारी घोषणा गरी चुनावी अभियानमा पनि होमिएका राईको मतदाता नामावलीमा नाम नै नभएपछि उनी निराशसँगै आक्रोशित बनेका छन्।
राईले गत मंसिर ७ गते जिल्ला निर्वाचन कार्यालय झापामा पुगेर फोटोसहितको मतदाता नामवलीका लागि फोटो खिचाएर फर्म भरेका थिए।
उनले मतदाता नामावलीको फर्म भरेर १९५०५३३५ नम्बरको अर्धकट्टी रसिदसमेत लिएका छन्।
‘मैले मतदाता नामावलीका लागि अरू ठाउँबाट भरेको भर नै हुँदैन भनेर जिल्ला निर्वाचन कार्यालय पुगेर फर्म भरेँ’, सोमबार दमकमा पत्रकारसँग कुरा गर्दै राईले भने, ‘त्यसपछि वाडा अध्यक्षको उम्मेदवारी नै घोषणा गरेर घरदैलो कार्यक्रममा हिँड्न थालेको छु, तर मतदाता नामावलीमा नाम नभेटेपछि वडा अध्यक्ष उठ्न त के मताधिकारका पनि प्रयोग गर्न पनि नपाउने भएँ।’
निर्वाचन आयोगको लापरवाहीका कारण आफू उम्मेदवारी दिनबाट बञ्चित हुनुपरेको उनले बताए। उनले निर्वाचन आयोगले अन्तिम समयमा आएर यसो गर्न नमिल्ने बताए।
‘जिल्ला निर्वाचन कार्यालय दैनिक धाइरहेको छु, आयोगले केही गर्न नसक्ने भन्दै गैरजिम्मेवार बनिरहेको छ’, उनले भने, ‘यसो गर्न त पाइएन नि१’ उनले आफूले निर्वाचन प्रचार प्रसारका लागि ३० हजार रुपैयाँभन्दा धेरै खर्च गरिसकेको बताए ।
यता जिल्ला निर्वाचन कार्यालय झापाले भने गल्ती भएको स्वीकार गरेको छ।
‘हामी पनि हेरिरहेका छौँ तर अहिलेसम्म नाम भेटेका छैनौँ’, जिल्ला निर्वाचन कार्यालय झापाका कार्यालय प्रमुख गोपाल आचार्यले भने, ‘नामावली नआउनुमा कि दुईतिरबाट फोटो खिचाएकोे हुनुपर्छ कि नाम कतै सार्दा यस्तो भएको हुन सक्छ।’