धरान। दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तह चुनावमा धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहेक अन्य राजनीतिक दलले उपमहानगर मेयर र उपमेयरका उम्मेदवार तोकिनसकेकाले प्रमुख तीन दलबीच नै तीव्र प्रतिस्पर्धा हुने भएको हो ।
तीनवटै राजनीतिक दलले धरानको विकास-निर्माण, शान्ति सुरक्षा, सुकुम्बासी समस्या समाधान, सर्दु र सेउतीखोलाबाट बर्सेनि हुने कटान नियन्त्रण, शिक्षा, स्वास्थ्य र खानेपानीलाई चुनावी मुद्दा बनाएका छन् ।
योग्य, सक्षम र धरानका चुनौतीलाई चिर्न सक्ने उम्मेदवार खडा गर्नुपर्ने दलीय विवादका बीच कांग्रेसले पार्टीका धरान नगरसभापति तिलक राईलाई गत बुधबारमात्र नगरको मेयरमा उठाएको औपचारिक घोषणा गरेपछि यहाँ चुनावी पारो तातेको छ ।
परिस्थितिको समीक्षा गरी लामो कसरत र रस्साकस्सीपछि दुई दिन अघिमात्र एमालेले धरान उपमहानगर विशेष कमिटीका अध्यक्ष तारा सुब्बालाई मेयरमा उठाएको छ ।
माओवादी केन्द्रले अइन्द्रविक्रम बेघालाई उपमहानगरको नेतृत्वका लागि अघि सारे पनि अहिलेसम्म उपमेयरमा उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
कांग्रेसले श्यामा रेग्मी र एमालेले मञ्जु भण्डारीलाई उपमेयरका रुपमा उभ्याएको छ ।
वामपन्थीहरुको गढका रुपमा परिचित पूर्वाञ्चलको सुन्दर सहर धरानको नेतृत्व यसपटक प्रजातन्त्रवादी समूहले गर्ने दाबी कांग्रेसका समर्थकले गर्दै आएका छन् भने २०४६ सालयताका सबै निर्वाचनमा कहिल्यै नहारेका साम्यवादी दल आफ्नो विरासत कायम राखेरै छाड्ने दृढता व्यक्त गरिरहेका छन् ।
२० वडा रहेको धरानमा जारी चुनावी प्रचारप्रसार र त्यसमा मतदाताको उत्साहजनक सहभागितालाई विश्लेषण गर्दा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
आजसम्म हारमात्र बेहोरेको कांग्रेसले यसपटक बाजी मार्ने विश्लेषण छ प्रा. डा. गोपालप्रसाद भण्डारीको।
उनले भने-‘एमाले र माओवादीबीच नै भोट काटिने भएकाले कांग्रेसको अवस्था सुदृढ बन्दै गएको छ ।’ वाम पार्टीको उर्वर नगर बनेको धरानका नयाँ पुस्ताले एकपटक प्रजातान्त्रिक शक्तिलाई साथ दिने उनको बुझाइ छ ।
नगरवासीका विकासका आकाङ्क्षा र भावनाअनुरुप यसअघि जितेका वामपन्थी दलले काम नगरेकाले कांग्रेसको स्थिति बलियो बनेको उनको तर्क छ ।
‘पार्टीभन्दा व्यक्ति हेर्छौं, विकासका विषय उठाउने र लागुऔषध दुव्र्यसनीको सहरका रुपमा कुख्याति कमाएको धरानको छवि सुधार्नेलाई भोट दिन्छौँ’-विजयपुर चोकमा आयोजित चुनावी सभामा भेटिएका धरान-१४ का मतदाता प्रेमप्रसाद पराजुलीले भने ।
पहिलोपटक मतदान गर्न लागेका उत्साही युवा पुस्ताका मतदाता पराजुलीकै विचारसँग सहमत छन् । प्रमुख तीनवटा पार्टीका कार्यकर्ता भने मतदातालाई आ-आफ्नो पक्षमा पार्न अहोरात्र खटिएका छन् ।
कांग्रेस सुनसरी जिल्ला कार्यसमितिका पूर्व सभापति मदन ढकाल विगतका निर्वाचनको प्रवृत्तिको विश्लेषण गर्दै धरान जनजाति बहुल नगर भएकाले जातीय भोट आकर्षण गर्नसक्ने दलले नै चुनाव जित्ने बताउँछन ।
राजनीतिकभन्दा पनि जातीय समीकरण मिलाउने व्यक्ति विजयी हुने उनको ठम्याइ छ । यसपटक भाषण गर्नेलाई भन्दा जातीयताका आधारमा धरानेले नगरप्रमुख चयन गर्ने उनी बताउँछन् ।
राष्ट्रिय जनगणना-२०६८ अनुसार धरानमा २८ हजार ५३६ राई जाति छन् । कांग्रेसका उम्मेदवार किराँत राई यायोक्खाका सक्रिय व्यक्ति भएकाले पनि तिलक राईको पल्लाभारी हुने ढकाल बताउँछन् ।
धरानमा लिम्बूको सङ्ख्या १६ हजार ६१,नेवारको १५ हजार २३७ र क्षेत्रीको १४ हजार ६९२ छ भने कुल मतदाता ७९ हजार २८२ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेस जिल्ला कार्यसमिति सुनसरीका अनुसार धरानमा झन्डै तीन हजार २०० क्रियाशील सदस्य छन् ।
त्यसैगरी एमालेका दुई हजार २०० र माओवादी केन्द्रका साधारण र सङ्गठित सदस्य गरी चार हजार ५०० को हाराहारीमा रहेका क्रमशः एमाले धरान उपमहानगर विशेष कमिटी र माओवादी केन्द्र धरान नगरले जनाएको छ ।
तीनवटै पार्टीका ती सदस्य आ-आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।
यसैबीच, कांग्रेसका उम्मेदवार राईले धरानका उद्योगधन्दा सञ्चालनमा अवरोध हुन नदिने, किसान र मजदुरको शोषण रोक्ने, २०३५ साल यता मर्मतसम्भार नभएका पुलपुलेसा बनाउने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने वडा नं १५ को एक वर्षअघि भत्केको पुल तत्काल निर्माण पहल थाल्ने, १२ हजार सुकुम्बासीका घर व्यवस्थापन गर्ने, धरान–चतरा सडक निर्माणलगायत जनपक्षीय काम गर्ने आफ्ना योजना सुनाए ।
त्यसैगरी एमालेका प्रत्यासी सुब्बाले जीर्ण भएको धरान सभागृहलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, सर्दु, सेउती र हर्दिया खोलामा तटबन्ध निर्माण, मनमोहन स्मृति उद्यान निर्माण, नयाँ बसपार्क बनाउने तथा अधुरा विकास–निर्माणका आयोजना पूरा गर्ने र नगरवासीको ठूलो समस्याका रुपमा रहेको खानेपानीको समस्या समाधान गर्ने चुनावी मुद्दा रहेको बताए ।