दूधे । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले शिवसताक्षीमा जनलहर ल्याएको छ ।
मेयर तथा उपमेयर पदका उम्मेद्वारहरु घरदैलो गर्दै भोट माग्नमा व्यस्त देखिएका छन् । मेयर पदका उम्मेदवार चन्द्रकुमार शेर्मा र उप मेयरको उम्मेदवार भोजकुमारी नेपालले चुनाव प्रचारप्रसारका क्रममा शिवसताक्षीलाई नमुना नगर बनाउन आफूहरुले प्रमुख योजनासहित अघि बढ्ने बताएका छन् ।
शनिबार नगरको वडा नं ९ को किरात चौकमा आयोजित सभालाई सम्बोधन गर्दै शेर्माले कृषिलाई आधुनिकीकरण गर्दै कनकाई नदीबाट सिंचित नगरका केही वडाहरुमा कृषकहरुलाई व्यवसायिक उत्पादन र प्रवद्र्धनमा सघाउ पुग्ने विभिन्न प्रकारका कार्यक्रमहरु चलाउने बताए ।
उनले कनकाई नदी कटानको चपेटामा परेको चिल्लागढ धाम र धेरै स्थानीयबासीको धनजनको क्षती भएको भन्दै आफू निर्वाचत भए पश्चात दीर्घकालिन रुपमा त्यस्ता समस्याहरुको समाधान खोज्ने बताए ।
नगरको मुख्य आयश्रोतका रुपमा धार्मिक तथा पर्यकीय क्षेत्रहरुलाई गुरु योजना बनाई झापाकै मुख्य पर्यटकीय केन्द्रको रुपमा चिनाउने योजना रहेको मेयरका उम्मेदवार शेर्माले सुनाए ।
नगर भित्र मुख्य तीन ठूला धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले त्यस्ता धार्मिक स्थलहरुमा सबै जातजातिहरु र समुदायहरुको मन्दिर स्थापना गरी बहुसांस्कृतिक धार्मिक क्षेत्रहरुको विकास गर्ने कुरामा जोड दिए ।
नगरमा सुकुम्बासी समस्या, खानेपानी, बाटो विजुली, स्वास्थ्यसँग सम्बन्धी धेरै समस्या भएकाले यसलाई उचित व्यवस्थापन गर्दै समृद्ध नगर बनाउन आफू निरन्तर लागिपर्ने बताए ।
कार्यक्रममा उपमेयर पदका उम्मेदवार भोजकुकारी नेपालले नगरमा आमुल परिवर्तन गरेर नागरिक र नगरलाई समृद्ध पार्ने बताइन् । नेपालले महिला, बालबालिका, पिछडिएका जाति, समुदाय र वर्गलाई विकासको मुलधारमा ल्याएर शिक्षा, स्वास्थ्य र राजनीतितर्फ चेतना विस्तार गर्न पहल गर्नेमा जोड दिइन् ।
वडा अध्यक्षका उम्मेद्वार छविलाल पाठकले एमालेको नीति कार्यक्रम र घोषणा पत्र एक चोटी सबै मतदातले पढ्नु पर्नेमा जोड दिए भने एमालेको लोकप्रिय कार्यक्रमहरुलाई मन पराएर सूर्यमा मतदान गर्न कार्यक्रममा उपस्थित टोलवासीहरुलाई आग्रह गरे ।
वडाको दुधे बजार, मिलन चौक, संगम चोक, चिल्लागढधाम, आइतबारे, झरनाबस्ती, नहरचोकलगायत दुई दर्जन गाउँ–टोलहरुमा घरदैलो तथा संक्षिप्त कोणसभा सम्पन्न भएको जनाइएको हो ।
कोणसभामा पूर्वसासद एवम् सतासीधामका पूर्वअध्यक्ष तारासम योङ्या, एमाले जिल्ला कमिटी सदस्य राधाकृष्ण खनाल, नगर अध्यक्ष धनवहादुर थेवे, महिला नेत्री प्रवित्रा सुब्बालगायतले स्थानीय निर्वाचनमा एमालेलाई मतदान गरेर विजयी गराउन वडाबासीहरुलाई आग्रह गरेका थिए ।