बिराटचौक । मोरङ क्षेत्र नं ८ का एमाले सांसद चन्द्रबहादुर गुरुङ विगतमा तीनचोटि गाविस अध्यक्ष जितेका जनप्रतिनिधि हुन् । एमालेलाई चौथो जित दिलाएर ०७० सालमा सांसद जितेका उनी अहिले आफ्नै गृहनगरमा पार्टीका उम्मेदवारबारे बेखर छन् ।
एमाले सांसद गुरुङले १५ वर्षसम्म अध्यक्ष चलाएको इन्द्रपुर गाविस अहिले सुन्दर हरैंचा नगरपालिका बनेेको छ । यहाँ कसलाई मेयरमा उठायो भने पार्टीले जित हात पार्छ भन्ने गुरुङलाई राम्रोसँग थाहा छ । तर, पार्टीले उनलाई अहिलेसम्म यसबारे सोधेको छैन ।
एमालेका एक जिल्ला नेताले भने-‘गुरुङ सांसदमात्रै नभएर एमालेको १ नम्बर प्रदेश कमिटीका सदस्यसमेत हुन्, तर उनी केपी ओली गुटको नभएकाले जिल्ला अध्यक्ष विनोद ढकालले उनलाई नसोधी उनको नगरपालिकामा आफ्नै गुटका पैसावाल नेतालाई टिकट दिएका छन् ।’
यसैवीच एमाले सांसद गुरुङ कोशी हरैंचा नगरपालिकामा केपी ओली गुटले गलत मानिसलाई मेयरको उम्मेदवार बनाउन लागेको भन्दै मौखिक उजुरी लिएर माधव नेपालसमक्ष पुगेका छन् ।
पुराना चर्चित विद्यार्थी नेता एवं हाल नेकपा एमालेका मोरङ जिल्ला सदस्य राजकुमार ओझालाई सुन्दर हरैंचाको मेयरमा उठाउनुपर्ने माग गर्दै सांसद गुरुङले नेता नेपालसँग भेट गरेको स्रोतले बतायो ।
कोशी हरैंचा नगरपालिकामा मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले आफ्नो गुटका केदार गुरागाईलाई मेयर बनाउन लागेको तर उनलाई मेयरमा उठाए पार्टीले हार्ने गुरुङले माधव नेपाललाई सुनाएका छन् ।
मोरङ जिल्लामा केपी ओली पक्षले एकलौटी ढंगले पुराना एवं त्यागी कार्यकर्तालाई पाखा लगाउँदै पैसावालहरुलाई टिकट बाँडिरहेको सांसद गुरुङले नेता नेपालसँग गुनासो पोखेका छन् । पैसावाल उम्मेदवार खोज्ने हो भने गरीब र सुकुम्बासीको भोट नआउने गुरुङको तर्क छ ।

राजकुमार ओझाजस्तो त्यागी एवं जनपक्षीय नेतालाई टिकट नदिए आफूले बागी उठाएर भए पनि जिताइदिने गुरुङले नेता नेपाललाई चेतावनीसमेत दिएको स्रोतले बतायो ।
एमाले स्रोतले दिएको जानकारीअनुसार कोशी हरैंचाको मेयरमा राजकुमार ओझा र उपमेयरमा अक्कली चौधरीलाई उठाउनुपर्ने सांसद गुरुङको माग छ ।
आफू १ नं प्रदेश कमिटीको सदस्य हुनुका साथै त्यहाँको जनप्रतिनिधि समेत हुँदाहुँदै पनि प्रदेश इञ्चार्ज भीम आचार्यले आफ्ना कुरा नसुनेको गुनासो गुरुङले नेता नेपाल समक्ष पोखेको नेपाल निकट स्रोतले बतायो ।
माधव नेपालले केन्द्र र स्थायी कमिटीमा आफूहरु अल्पमतमा परेकाले केही गर्न नसकिएको सांसद गुरुङलाई बताएका थिए ।
सुन्दर हरैंचाः बिराटनगरपछिको दोस्रो ठूलो
उत्तरी मोरङको उदाउँदो शहर बिराटचोकका साथै सलकपुर, हरैंचा लगायतका बजारलाई समेटेर बनेको सुन्दर हरैंचा नगरपालिका बिराटनगरपछिको दोस्रो ठूलो स्थानीय तह हो ।
सुन्दर हरैंचा नगरपालिकाको जनसंख्या ८० हजार ५ सय १८ छ । मोरङ जिल्लाका १७ स्थानीय तहमध्ये बिराटनगरपछिको बढी जनसंख्या भएको नगरपालिका यही हो ।
जब कि पुरानो नगर रंगेलीको जनसंख्या ५२ हजार छ । नयाँ शहर उर्लाबारीको जनसंख्या ५४ हजार छ भने सुन्दर हरैंचाको जनसंख्या झण्डै दोब्बर छ । यस्तो महत्वपूर्ण नगरपालिकामा एमालेभित्र उम्मेदवार चयनमा ओली र माधव नेपाल गुटवीच विवाद सुरु भएको छ ।
एमालेको गढ मानिने यो नगरपालिकामा पछिल्लो समय एमालेलाई नेपाली कांग्रेसले समेत टक्कर दिइरहेको छ । यस्तो अवस्थामा एमालेले राम्रो उम्मेदवार दिन नसके पार्टीले नगरपालिका गुमाउन सक्ने चिन्ता गुरुङ पक्षका नेताहरुमा छ ।
यो नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले शिव ढकाललाई उम्मेदवार बनाउने चर्चा छ । त्यस्तै माओवादीले लता न्यौपानेलाई मेयरमा र नवराज चापागाईलाई उपमेयरमा उठाएको छ ।