विराटनगर । माओवादी केन्द्रले विराटनगर महानगरपालिकालाई नमुना वालमैत्री नगर तथा ‘स्मार्ट सिटी’ बनाउने महत्वकांक्षी योजनासहित आफनो घोषणा पत्र सार्वजनिक गरेको छ ।
उसले वाइफाइ फ्री, सामाजिक न्यायसहितको समृद्ध विराटनगर वनाउने पनि प्रतिवद्धता पत्रमा जनाएको छ । माओजादी केन्द्र विराटनगरले तयार पारेको प्रतिवद्धता पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले शनिबार सार्वजनिक गरेका छन् ।
विराटनगर महानगरलाई दक्षिण एशियाकै नमुना वालमैत्री एवं स्मार्ट सिटी निर्माणका लागि विशिष्ट चिल्ड्रेन पार्क, चिडियाखाना, तारा मण्डल, वाटर फाउन्टेन, भ्यूटावर लगायतको निर्माण अघि बढाउने माओवादको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
नगरको विकासका लागि भौतिक पुर्वधारहरु सडक, हवाई, यातायात, खानेपानी, सञ्चार, विजुली आदिको निर्माणमा विषेश जोड दिने पनि उसले बताउको छ । माओवादी केन्द्रको प्रतिवद्धता पत्रमा रिङ रोड, बाइपास सडक एव अन्तराष्ट्रिय विमानस्थलको निर्माणका लागि अभियान चलाइने बताइएको छ ।
हाल वन्द अवस्थामा रहेको विराटनगर जुट मिल्सलाई पुनः सञ्चालन गर्ने, भूमिहीन सुकुम्वासी, विपन्न मुसहर तथा दलित परिवारको पहिचान गरी विपन्न जनता आवास कार्यक्रम चलाउने र आधुनिक घर निर्माण गरी हस्तान्तरण गर्ने जनाएको छ ।
गरिब किसानका लागि सहुलियत ब्याजदरमा कृषि ऋणको व्यवस्था गर्ने र कृषि पेसालाई प्रोत्साहन गर्न किसान पेन्सनको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
विराटनगरका मेयरको उम्मेदवार भोगेन्द्र यादव र उपमेयरका उम्मेदवार नमिता न्यौपानेले विराटनगरलाई सम्मुन्नत नगर वनाउने आफूहरुको प्रतिवद्धता रहेको वताएका छन् ।