
काठमाण्डाैं । बाहिरी चक्रपथ बन्ने अब भने पक्का भएको छ । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएको एक महिनापछि बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट राजपत्रमा प्रकाशित भए पछि चक्रपथ बन्ने लगभग पक्का पक्की भएको हो । डिपिआर गत १५ गते राजपत्रमा प्रकाशित भएको हो। यससँगै आयोजनाले आगामी आर्थिक वर्षका लागि १० करोड बजेट समेत प्राप्त गरेको छ ।
चक्रपथ निर्माणका लागि आज नै जग्गा रोक्काको ३५ दिने सूचना निकालिने आयोजनाले जनाएको छ । आयोजना प्रमुख दीपक श्रेष्ठका अनुसार चक्रपथ निर्माणका लागि बजेटको कुनै समस्या नहुने भएको छ। ‘आयोजनाको लागि अर्थ मन्त्रालयले पूर्ण बजेट उपलब्ध गराउने भएको छ।
सहरी विकास मन्त्री अर्जुननरसिंह के.सी.को अध्यक्षतामा बसेको काठमाडौं उपत्यका विकास प्राधिकरणको भौतिक विकास समितिको बोर्ड बैठकले वैशाख दोस्रो साता डिपिआर स्वीकृत गरेको थियो। चक्रपथ निर्माण खण्डमा ८ हजार ९ सय ५६ रोपनी जमिन एकीकरण भएको छ।
त्यसमा १३ हजार ७ सय ६४ कित्ता जमिन परेको छ। बाहिरी चक्रपथमा ५० मिटरको आधुनिक सडक हुनेछ। सो खण्डमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमीटर, ६ मिटरको सडक शून्य दशमलव ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलव ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलव १३ किलोमिटर निर्माण हुनेछ।