केर्खा । झापाको तोपगाछी गाविस–७, बगाने टोलका मृगौला पीडित घनश्याम विश्वकर्माको उपचारका लागि झापाली समाज, यूएईले आर्थिक सहयोग सहयोग गरेको छ ।
सोमबार केर्खाको शहीद धर्मभक्त उच्च माविमा भएको एक कार्यक्रमका बीच समाजका प्रतिनिधिहरुले २५ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।
दुवै मृगौला विग्रिएर काम नगर्ने अवस्थामा पुगेपछि उपचारका लागि आर्थिक अभाव हुँदा उनले सहयोगको लागि सबैसँग अपिल गरेका थिए ।
त्यसपछि, वैदेशिक रोजगारीको क्रममा यूएईमा कार्यरत झापालीहरुको समूहले उनीलाई सहयोग गरेको हो ।
सहयोग वितरण कार्यक्रममा प्रमुख अतिथि तथा झापाली समाज यूएइका नेपाल प्रतिनिधि भूपाल शिवोकाटी, केन्द्रीय सदस्य नारायण के भट्टराईं, हरी कटुवाल र तोपगाछीका गाविस सचिव विरेन्द्र खड्काले पीडित परिवारलाई राहत हस्तान्तरण गरेका थिए ।
झापाली समाज यूएइका दुबई क्षेत्रीय समिति सचिव प्रेम अधिकारीको संयोजनमा भएको कार्यक्रमकै अवसरमा सर्वोच्च शिखर सगरमाथामा पाइला राखेर केही दिन अघि मात्र फर्किएका युवा अनिश लुइँटेललाई समेत सम्मानित गरिएको थियो ।
उनलाई सम्मान पत्र, खादा र पुष्पगुच्छाले सम्मान गरिएको थियो ।