बिर्तामोड । निर्वाचनमा सहभागी हुनका लागि निर्वाचन आयोगमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नामक पार्टी दर्ता गराएको क्रान्तिकारी नेकपा माओवादीले बिर्तामोड नगरपालिकाको मेयरको नाम सार्वजनिक गरेको छ ।
सीपी गजुरेल केन्द्रीय अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको झापा जिल्ला संगठन समितिले शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी प्रमुखका उम्मेद्वारको नाम सार्वजनिक गरेको हो ।
मोर्चाले बिर्तामोड नगरपालिकाका लागि बालकृष्ण बुढाथोकीलाई उम्मेद्वार बनाएको छ । उनी क्रान्तिकारी नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य, चिया मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष तथा ट्रेड युनियनका झापा जिल्ला संयोजक हुन् ।
आफूले बिर्तामोड नगरको प्रमुख जितेमा अव्यवस्थित घरहरुलाई मापदण्डमा ल्याउने, खानेपानी तथा ढल निकासलाई व्यवस्थित बनाउने, बेरोजगार युवालाई रोजगारीको ग्यारेन्टी गर्ने लगायत ११ वटा घोषणा बुढाथोकीले गरेका छन् ।