इलाम । स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ ।
माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा रामकुमार राई र उपप्रमुखमा शान्ता बस्नेतलाई उम्मेदवार चयन गरेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले बताए ।
यस्तै सूर्योदय नगरपालिका प्रमुखमा राज राई र उपप्रमुखमा टीका घिमिरे तथा माई नगरपालिका प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापालाई छनोट गरिएको छ ।
नेकपा एमालेले १० स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र अन्य सदस्यको टुङ्गो लगाइसकेको छ । नेपाली काँग्रेसमा पनि उम्मेदवारी प्रक्रिया चलिरहेको छ । केही ठाउँमा उम्मेदवार छनोट गरिसकेको काँग्रेसले आजसम्ममा उम्मेदवार टुङ्गो लगाउने काँग्रेसका प्रचारप्रसार विभागका प्रमुख निरोज खड्गीले जानकारी दिए।
साङ्केतिक सामग्री प्रयोगमा प्रतिबन्ध
निर्वाचनको प्रचारका लागि राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले टोपी, झोला, टिसर्टजस्ता साङ्केतिक सामग्री प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, प्रतीकचिह्न, झोलाजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री र प्रदर्शनमा रोक लगाउन निर्देशन दिएको छ ।
यसअघि पहिलो चरणमा समेत प्रयोगमा रोक लगाउन आदेश दिइए पनि कतिपय क्षेत्रमा यसको उल्लङ्घन भएको थियो । यसअघि निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ का मौनअवधिमा मात्र यस्ता सामग्रीको प्रयोग, बिक्री वितरण र प्रदर्शनमा रोक लगाउने उल्लेख गरिएको छ ।