दुर्गापुर । नेकपा एमालेले कनकाई नगरपालिका वडा नं. ७ मा अन्तरक्रियामूलक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
आगामी जेठ ३१ गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनका लागि साना ठूला विभिन्न राजनीतिक दलहरु आआफ्नो पार्टीका उम्मेद्वार छनौट गर्नमा ब्यस्त रहेकै बेला दुर्गापुर बजारमा बुधबार एमालेले वडास्तरीय मतदाता शिक्षा कार्यक्रम गरेको हो ।
नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार लीलाबहादुर कन्दङ्वा र सदस्यहरु प्रकाश शिवाकोटी, माराङ् हस्दा, महिला सदस्य गीता चौहान र दलित महिला सदस्य मुना वयलकोटीसहितको सहभागितामा सो कार्यक्रम गरिएको हो ।
मतदाता शिक्षा कार्यक्रमबाट स्थानीय सर्वसाधारण मतदाता एवम् एमाले कार्यकर्ताहरु लाभान्वित भएका छन् । कार्यक्रममा मतपत्रमा छाप लगाउने र मतपत्र पट्याउने विधिका साथै मत खसाल्ने तरिकाको विषयमा जानकारी गराइएको थियो ।
जसरी भिटामिन “ए” को क्याप्सुल आफूमात्र नभएर अरुलाई समेत खानका लागि जानकारी गराइन्छ, त्यसैगरी मतदाता शिक्षा प्राप्त गरेका सबैले अरुलाई पनि शिक्षा दिएर मतपत्र रद्घ हुनबाट जोगाउनुु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
नेकपा एमाले वडास्तरीय चुनाव परिचालन कमिटीले आयोजना गरेको कार्यक्रममा कमिटीका संयोजक कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
वडा कमिटी अध्यक्ष प्रकाश शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्षका उम्मेदवार लीलाबहादुर कन्दङ्वा, मिलन दहाल, राजन कार्की, राजेन्द्र खनाललगायतले एमालेका उम्मेदवारलाई विजय गराउनुपर्ने आधारहरु प्रस्तुत गरेका थिए ।