इलाम । जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा एमाले इलामले जिल्लाका १० वटै तहका सम्पूर्ण उम्मेदवारको टुंगो लगाएको छ।
आकांक्षी धेरै भएका इलामका ६ वटा स्थानीय तहका प्रमुख एवं उपप्रमुखको उम्मेदवारी प्रदेश कमिटीले टुंग्याएसँगै इलामका सबै तहका प्रमुख, उपप्रमुख एवं ८१ वडाका सम्पूर्ण उम्मेदवारको छिनोफानो भएको प्रचार समितिका सचिव नवराज शंकरले जानकारी दिए।
उनका अनसार सूर्योदय नगरपालिकाको प्रमुखमा आरबी राई र उपप्रमुखमा चित्रकला बराइलीलाई उठाउने निर्णय गरिएको छ ।
यस्तै माई नगरपालिकामा प्रमुखमा दिपक थेवे र उपप्रमुखमा विष्णुमाया आचार्य, माई जोगमाई गाउँपालिकाको अध्यक्षमा जीतबहादुर राई र उपाध्यक्ष सावित्रा भट्टराईको नाम स्वीकृत भएको छ ।
यसैगरी रोङ गाउँपालिकाको अध्यक्षमा वृहस्पति भट्टराई र उपाध्यक्षमा विष्णुमाया खवास, चुलाचुली गाउँपालिकाको अध्यक्षमा प्रदीपचन्द्र राई र उपाध्यक्षमा निर्मला दाहाल, फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा दिपेन्द्र खनाल र उपाध्यक्षमा सरस्वती राईको नाम प्रदेश कमिटीले निर्धारण गरेको हो ।
इलाम नगरपालिकाको प्रमुखमा महेश बस्नेतको नाम यसअघि नै ािर्णय भइसकेको थियो भने उपप्रमुखमा सुशीला नेम्वाङको नाम टुंगो लगाइएको छ ।
यस्तै सूर्योदय नगरपालिकाको प्रमुखमा सूर्य पोख्रेल र उपप्रमुखमा पविमाया राई, सन्दकपुर गाउँपालिका अध्यक्षमा उदय राई र उपाध्यक्षमा शोभा पराजुलीलाई उठाउने पनि पूर्वनिर्णय भइसकेको छ । माङसेवुङ गाउँपालिका अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सनिता योङहाङको उम्मेदवारी सर्वसम्मत भएको थियो।
एमाले जिल्ला कमिटीले जेठ ३ गते ८१ वडाका उम्मेदवारको टुंगो लगाएको थियो । उम्मेदवारी निश्चित भएसँगै एमालेका नेता–कार्यकर्ता गाउँगाउँमा चुनाव प्रचारपसारका लागि निस्किएका छन् ।