झापा । आगामी जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र झापाले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।
सोमबार दक्षिणी झापाको झापा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ६ वडाका वडाध्यक्ष एवम् सदस्य पदका उम्मेदवारहरुको नाम घोषणा गरेको हो । पार्टीका झापा जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी सन्देशले दिएको जानकारी अनुसार झापा गाउँपालिकाको अध्यक्षमा भूमिगत कालदेखि कै कार्याकर्ता रुद्र बजगाईंलाई र उपाध्यक्षमा पवित्रा राजवंशीलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी वडाध्यक्षहरुमा क्रमशः १ मा जोलिम मिया, २ मा तेजनारायण राजवंशी, ३ मा देवीप्रसाद अधिकारी, ४ मा मुस्तफा मिया, ६ मा योगराज मैनाली र ७ नम्बर वडामा दिलिपकुमार दासलाई उम्मेदवार तोकिएको छ । वडा नं। ५ मा केही दिनभित्रै अध्यक्षको उम्मेदवार घोषणा गरिने बताइएको छ ।
नेकपा माओवादी केन्द्रले यस अघि झापाका १५ स्थानीय तहमध्ये दमक नगरपालिकाको प्रमुख पदमा गगन पुरीको नाम र उपप्रमुखमा शान्ता धिमालको नाम घोषणा गरिसकेको छ । यस्तै बिर्तामोड नगरपालिकामा सिपी कडरियालाई नगरप्रमुख पदमा र लक्ष्मी न्यौपानेलाई उपप्रमुख पदमा उम्मेदवार बनाउने भएको छ ।
सो पार्टीले मेचीनगर नगरपालिकाको प्रमुखमा हंशलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्कीलाई तथा अर्जुनधारा नगरपालिकाको प्रमुखमा भुपेन्द्र न्यौपाने र उपप्रमुखमा अस्मिता तामाङ्गलाई उम्मेदवार तय गरिसकेको छ ।
यसैगरी, कमल गाउँपालिकालाई सोमबारको मन्त्रिपरिषद्को बैठकले नगरपालिकामा रुपान्तरण गर्नु अघि अधिवक्ता बिमल संग्रौलालाई अध्यक्ष र गौरी राईलाई उपाध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर पछिल्लो परिवर्तन पछि उसले यसबारेमा केही बोलेको छैन ।
यसैगरी, कचनकवल गाउँपालिकाको अध्यक्षमा हंशनारायण राजवंशी र उपाध्यक्षमा इश्वरीमाया गाइने, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसीप्रसाद ओलीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक मणिकुमार साम्पाङ्गले जानकारी दिए ।