भद्रपुर ।
‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने मूल नारासहित ४४ औं विश्व वातावरण दिवस बिभिन्न कार्यक्रम गरि मनाइएकाे छ । यता झापाकाे भद्रपुरमा पनि बिभिन्न कार्यालय र संघ संस्थाकाे अगुवाइमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला वन कार्यालय झापा, जिल्ला विकास समिति झापा, भद्रपुर नगरपालिका र वातावरण संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएकाे हाे । झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु प्रसाद निरौलाकाे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीय विकास अधिकारी खेमराज ओझा, जिल्ला वन अधिकृत बोधराज सुवेदी, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे, जिल्ला भू संरक्षण कार्यालयका अधिकृत हृदय कुमार झा, सशस्त्र प्रहरी उपरिक्षक शान्ति कुमार कार्की, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् भद्रपुरका अध्यक्ष सन्तोष राजवंशी, वातावरणीय विज्ञान विद्यार्थी समूहका प्रतिनिधि अशोक गिरी,दिदी बहिनी महिला समूहका अध्यक्ष पुष्पा जोशी लगायतको आतिथ्यता रहेको थियो ।

घोडामारास्थित सशस्त्र प्रहरी क्याम्पको पश्चिमपट्टि एक नगर अनेक उद्यान अन्तर्गत निर्माण गरिएको उद्यानमा प्रमुख अतिथिलगायत अतिथिहरुबाट ५० वटा सौन्दर्य दिने खालका विरुवाहरु रोपियाे । वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष हैकम घिसिङको अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन सचिव नविन कोइरालाले गरेका थिए ।