मित्रपार्कबाट सातदोबाटो ललितपुर पुग्नु थियो । सडकमा सवारी खोजीयो । बा २ ज ११७१ नम्बरको ट्याक्सी भेटियो । ट्याक्सीमा थिए, खडक बहादुर ढकाल । होचो कद, हँसीलो मुहार । मेरो गन्तव्यसम्म पुर्याउन सहजै सहमति जनाए । कुराको सुरुवात मैले नै गरेँ । आफ्नो परिचय दिए । प्युठान घर, दुई छोरीसँगै हाल काठमाण्डौँमा बस्ने गरेको बताए । प्युठान भनेपछि मेरी बास्यैका भट्भटे माइलाबारे सुनाए । उनले मेरो अनुहार तिर हेरे । सायद ठम्याउन सकेनन् । भने, मेरी बास्यै त खुबै हेरीन्छ, मज्जाले हाँसीन्छ । बल्ल धुर्मुसलाई चिन्नुहुन्छ ? मैले सोधेँ । उनले दोहोराएर मेरो अनुहार हेरे । मुस्कुराउँदै, ए कस्तो धुर्मुसे बाबु पो हुनु हुँदो रहेछ, उनले भने ।
खड्जीको ओठ कसरी बाङ्गो पारेको, मुस्कान पासा बन्न के के लगाउनुपर्छ ? यस्तै यस्तै जिज्ञासा राखे, मैले उनको जिज्ञासा मेटाउने कोशिस गरेँ । गिरान्चौर निर्माणमा व्यस्तता बढीरहँदा मेरो फोन अझै धेरै व्यस्त हुन थालेको छ । छोटो यात्रामा पनि ८, १० कल नै फोन गरियो । उनले मैले बोलेको कुराहरु आफ्नो मोबाइलमा रेकर्ड समेत गरेछन् । छोरी र साथीभाईलाई सुनाउन रे ।
जब गन्तव्यमा पुगेँ । भाडा निकालेँ । उनी तिर हात बढाएँ । तर उनले पैसा लिनै मानेनन् । उनको समय र गाडिमा तेल खर्च भएको थियो । दुई छोरीलाई पढाएर बसेका उनले पैसा लिन नमान्दा बेकार परिचय दिएछु झैँ पनि लाग्यो । कारण सोध्दा उनले भने मानिसले हजारौँ, लाखौँ सहयोग गरिरहेका छन् । मैले आर्थिक सहयोग गर्न नसकेपनि तपाईँलाई यहि सहयोग भयो । बस्ती निर्माणका लागि कुनै अभाव नहोस्, म बुढोको शुभकामना । उनको यो शुभकामनाले मनमा उर्जा थप्यो । अझै राम्रा काम गर्ने हौसला बढ्यो । सामाजिक काम गर्दाको वास्तविक आनन्द प्राप्त भयो । साना साना कुरामा नै खुशि र आनन्द लुकेको हुँदो रहेछ । त्यो लुकेको खुशि जगाईदिने खडक बहादुर ढकालको सम्झना स्वरुप यी शब्दहरु लेखेँ ।
साभार: धुर्मुस-सुन्तली फाउन्डेसनकाे वेभसाइट बाट
