काठमाडौँ, २९ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न÷गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई पुनःआह्वान गर्नुभएको छ ।
सहन्यायाधिवक्ता खेमराज ज्ञवालीद्वारा लिखित ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’ पुस्तकको आज काठमाण्डाैंमा विमोचन गर्दै भन्नुभयो, “केही स्थानमा राजनीतिक दल र उम्मेदवारबाट मौनअवधिको अवज्ञा भइरहेको भन्ने सूचना प्राप्त भएको छ, यो ठीक भएन, प्रचारप्रसार गर्ने कार्य तत्कालै रोक्नुस् ।” राष्ट्र, जनता र लोकतन्त्रको स्थायित्वका लागि हुन लागेको निर्वाचनको महाभियानअन्तर्गत मतदानमा घरायसी अरु सबै काम छाडेर सहभागी हुन आग्रह गर्दै डा यादवले निर्वाचन आचारसंहिता विपरीत हुने जुनसुकै कार्यलाई निरुत्साहन गर्न नागरिक समूहलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणको निर्वाचनमा खटिएका मतदान अधिकृत सबै आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगेर धमाधम मतदाता परिचयत्र वितरण गरिरहनुभएको छ, निर्वाचनलाई स्वतन्त्र, स्वतन्त्र र निष्पक्ष बनाउन आयोगले कुनै कसर बाँकी राखेको छैन, तयारीमा कुनै कमजोरी छैन ।”
कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले संवैधानिक लोकतन्त्रमा विश्वास गर्नेले संविधानअनुरुप राजनीति चलाउनुपर्छ, राजनीतिअनुसार संविधान चल्न सक्दैन भन्ने बुझ्न आवश्यक छ भन्नुभयो ।