
काठमाडौं । चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपाल आजदेखि औपचारिक रूपमा सदस्य बन्ने भएको छ ।
ओबीओआरमा नेपालको सहभागितासम्बन्धी बृहत् समझदारीपत्रमा नेपाल र चीनबीच हस्ताक्षर हुने भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी र चिनियाँ राजदूत यू होङले परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुहुनेछ ।
दक्षिणएसिया क्षेत्रबाट श्रीलंका, बंगलादेश र पाकिस्तानपछि नेपाल चिनियाँ उक्त अवधारणाको सदस्य बन्ने भएको हो । अवधारणाअनुसार दुई देशबीच सडक तथा रेल कनेक्टिभिटी विस्तार, लगानी, व्यापार र पर्यटन गरी विविध क्षेत्रमा सहकार्य हुनेछ ।
वान बेल्ट वान रोडको फ्रेमवर्कभित्र रहेर सीमापार रेल, राजमार्ग, विद्युत् प्रसारण लाइन, विशेष आर्थिक क्षेत्र, विमानस्थल, सुक्खा बन्दरगाह, उद्योग, जलविद्युत् परियोजना, औद्योगिक प्रविधि पार्कलगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुनेछ ।
चीनको लगानीमा स्थापित एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फन्डमार्फत नेपालमा चीनले यी क्षेत्रमा लगानी गर्नेछ । बेल्ट एन्ड रोड अवधारणामा समुद्री तथा स्थलमार्ग गरी हालसम्म ६५ देश चीनसँग जोडिएका छन् । अन्य एक सय देशले चीनसँग समुद्री तथा स्थल मार्गबाट जोडिन चाहेका छन् ।