म्याग्दी, २७ वैशाख । स्थानीय तहको निर्वाचनमा गोप्य मतदानबाट वञ्चित हुनुपर्ने अवस्था आएकोमा म्याग्दीका दृष्टिविहीनले गुनासो गरेका छन् । दृष्टिविहीनका लागि मतदाता शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न हिजाे बेनीमा आयोजित एक कार्यक्रममा उनीहरुले निर्वाचनमा मतपत्रमा रहेका चुनाव चिह्नमा छाप लगाएर मतदान गर्ने निर्वाचन प्रक्रिया दृष्टिविहीनमैत्री नभएको बताए ।
नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सदस्य खोमराज शर्माले स्थानीय तहमा निर्वाचन आयोगले अवलम्बन गरेको मतपत्रमा छाप लगाएर मतदान गर्ने निर्वाचनको विधिका कारण दृष्टिविहीनले आफ्नो मत आफँैले गोप्य रुपमा हाल्ने अवस्था नगरेको बताउनुभयो ।
“विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्ने व्यवस्था भए दृष्टिविहीनले समेत आफ्नो मत आफैँ हाल्न सक्थे, अहिले नजिकको आफन्त वा मतदान अधिकृतमार्फत आफ्नो मत जाहेर गर्नुपर्छ, अरुमार्फत मत हाल्दा गोप्य भनिएको मतदान दृष्टिविहीनका लागि पहुँच बाहिर जस्तै भएको छ,”– उहाँले भन्नुभयो ।
अन्य व्यक्तिले निर्वाचनमा भोट हाल्दा गोप्य हुने भए पनि दृष्टिविहीनको मतदान भने नजिकको आफन्त वा मतदान अधिकृतले थाहा पाउने भएकाले त्यस्तो किसिमको मतदानले दृष्टिविहीनलाई गोप्य मतदान गर्ने अधिकारबाट वञ्चितमा पारेको दृष्टिविहीन सन्ध्या छन्त्यालले बताउँछिन् ।
छन्त्यालले अहिले विद्युतीय भोटिङ मेसिनको निर्वाचन विधि नभए पनि दृष्टिविहीन भएका व्यक्तिले सक्रियरुपमा स्थानीय निर्वाचनमा मतदान गर्ने जानकारी दिनुभयो ।