धुलाबारी । गत बुद्ध जयन्तिका दिन विहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका अनिश लुईंटेललाई झापाको धुलाबारीमा भव्य सम्मान गरिएको छ ।
शनिवार धुलाबारीस्थित जेसीज भवनमा आयोजित कार्यक्रममा झापाका सबै जेसीज शाखाहरु, शिक्षण संस्थाहरु तथा विभिन्न सामाजिक संघ संस्थाहरुले सम्मान गरे ।
सम्मान कार्यक्रममा बोल्दै अनिशले आफू मात्र नभइ आफू मार्फत सबै झापाबासीको सगरमाथा आरोहण भएको बताए । उनले भने, ‘मैले सबैको सहयोग र माया नपाएको भए सगरमाथाको सफल आरोहण गर्नसक्ने थिइन ।’
उनले सगरमाथा बेस क्याम्पदेखि चुचुरोमा पुगिन्जेलसम्मका आफूले भोगेका कठिनाईका बारेमा विस्तृत बताए । तुलनात्मक रुपमा उकालो चढन भन्दा ओरालो झर्न निकै कठिन भएको उनले बताए । एकपटक आफूले लगाएको अक्सिजनले काम नगरेपछि बाटोमा निकै समस्या भएको पनि उनले सुनाए ।
सगरमाथाको चुचुरोमा पुगेपछि आँखाभरि आँसु आएको उनले बताए । उनले भने, ‘म त्यो बेला नेपाल सम्झेर रोएँ । किनभने मसंग नेपालको संविधान थियो ।’