बेलायतको हेल्प नेपाल फाउण्डेशनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि २० लाख रुपैँया सहयोग गर्ने घोषणा गरेको छ ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि स्थापना भएको सो फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २० लाख रुपैँया धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने घोषणा गरेको हो ।
भूकम्प पिडितलाई राहात र पुनर्निर्माणमा सघाउ पुर्याउने उद्देश्यले संकलन गरिएको रकम धुर्मुस सुन्तलीमार्फत पिडित सम्म पुर्याउन चाहेको हेल्प नेपाल फाउण्डेशनले जनाएको छ ।
प्रधानमन्त्री विपद् उद्धार कोषमा जम्मा भएको पैसा पिडित समक्ष कहिले पुग्ने हो पत्तो नभएका कारण पनि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा उक्त रकमको आवश्यकता देखिएकाले यो निर्णय गरिएको फाउण्डेशनद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
घोषणा गरिएको उक्त सहयोग जतिसक्दो छिटो नेपाल पठाइने हेल्प नेपाल फाउण्डेशनका कोषाध्यक्ष नारायण बहादुर सापकोटाले जानकारी दिएका छन् । हेल्प नेपाल फाउण्डेशनले गरेको यो निर्णयप्रति धुर्मुस सुन्तली फाउण्डेशन कृतज्ञता प्रकट गरेको छ ।
यति ठूलो सहयोगको घोषणा हुँदा आफुहरुलाई काम गर्ने निकै उर्जा मिलेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।
हेल्प नेपाल फाउण्डेशनको सहयोग प्राप्त भएमा ४ करोड बढी अनुमानीत लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजना सम्पन्न गर्न ठूलो सहयोग पुग्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले प्रतिक्रिया दिएकी छिन् ।
हेल्प नेपाल फाउण्डेशनले गर्ने भनेको उक्त सहयोग गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सबैभन्दा उच्च सहयोग हुनेछ ।
यस अघि सिटी एक्सप्रेस मनी ट्रान्सफरले गरेको १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया नै सबैभन्दा उच्च सहयोग थियो ।
यस्तै, अस्टीन टेक्सासबासीहरुकोतर्फबाट १० लाख ८६ हजार, नेप्लीज इन ग्राज अस्ट्रीयामार्फत १० लाख ९३ रुपैँयासँग अन्य थुप्रै संस्था र व्यक्तिहरुबाट अहिले सम्म फाउण्डेशनको खातामा १ करोड ४० लाखको हाराहारीमा रकम जम्मा भएको छ । चार करोड बढी अनुमानीत लागत रहेको यस परियोजनामा हेल्प नेपाल फाउण्डेशनको सहयोग थपीएमा धुर्मुस सुन्तली फाउण्डेशनमा डेढ करोड बढी रकम हुनेछ ।
हेल्प नेपाल फाउण्डेशनले जारी गरेको विज्ञप्ति यस्तो छ ।