
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरी ‘पुलिस अफ दि मन्थ’ घोषित भएका छन् ।
झापामा ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण, जनचेतनामूलक काम लगायत विभिन्न कामको मूल्याङ्कनका आधारमा उनी २०७३ चैत महिनाको उत्कृष्ट प्रहरी बन्न सफल भएका हुन् । प्रहरी निरीक्षक गिरीलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले ‘पुलिस अफ दि मन्थ’ बाट सम्मानित गरेको हो ।
उनको नेतृत्वमा झापाका मुख्य तथा सहायक राजमार्गका महत्वपूर्ण ४० स्थानमा जनचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ । बिर्तामोडको मुख्य बजार क्षेत्रमा २०० भन्दा बढी डिभाइडर राखिएको छ । ३५ सय भन्दा बढी ट्याक्टरमा ब्याक लाइट लाउने, लोकल बसमा राखिएका ननस्टप ट्याग हटाउने, बजार क्षेत्रमा सरसफाई अभियान, ट्राफिक नियम बारे सचेतनामूलक कार्यक्रम, सीसी क्यामरा जडान, १४ वटा मोटरसाइकल र भारतबाट ल्याएका सवारीसाधन फउ गरी भन्सार बुझाउने काममा उनको महत्वपूर्ण योगदान रहेको थियो ।
ट्राफिक नियम उल्लङ्घन गर्ने कुल ४५ हजार ३० सवारीसाधनलाई कारबाही गरी ११ महिनामा २ करोड ६१ लाख ८० हजार राजस्व संकलन गरेको कार्यको समेत कदर गर्दै प्रहरी निरीक्षक गिरीलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।