
रत्ननगर । ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फिर्ता भए । अहिले उनी उपचाररत छन् ।
गत चैत २५ गते भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन सदाझँै चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्न गए । सधैँ पौडी खेल्ने ठाउँमा त्यो दिन पनि साथीसँगै पुगे ।
अपराह्न करिब ४ बज्दै थियो । एक्कासि हाम्फालेका अर्जुन गोहीको पिठ्यूँमा परेछन् । लेउले ढाकेर बसेको थियो गोही । लेउ नै सम्झेँ उनले । “म हामफालेँ, गोहीको माथि परेछ, लेउ जस्तै बनेर बसेको रहेछ, म हाम्फालेपछि अनि झ््याप्पै हात समायो,” सम्झँदै अर्जुन भन्छन् । देब्रे हातमा समाएर तीनचोटि पछा¥यो । त्यसलगत्तै पानीमुनि लग्यो । सामान्यतया गोहीले समाइसकेपछि पानीमुनि लगेर सास फेर्न नदिई मार्छ । “यो हात त सबै पड्यापुडुक भा छ,” गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने ।
यति गर्दा पनि बालकको होस भने गएको थिएन । गोहीले आफैँलाई गरेको आक्रमण हेर्दै थिए । फुस्कने कोसिस उनको व्यर्थ थियो । “मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, पानीमुनि नै साथीले गोहीको आँखामा हाने, अनि भाग्यो,” अस्पताल श्ययाबाट खुसीका साथ उनले घटनाबारे बेलिविस्तार लगाए । गोहीको आँखामा लाग्ने बित्तिकै भाग्दोरहेछ भन्ने उनले त्यो दिनबाट चाल पाए । साथीहरुले पानीभित्रै गएर गोहीलाई डन्ठाले हानेको हेरिरहेका अर्जुन भन्छन्, “म बेहोस नै भएको थिइनँ, हेरिराथेँ, अब ज्यान बचेन भन्ने लाग्याथ्यो ।” एउटा हात त गोहीले छाडेकै थिएन । टाउको समाउने प्रयास गर्दै थियो । गोहीसँगको सङ्घर्ष सम्झँदै उनी भन्छन्, “टाउको समायो भने मार्छ भन्ने लागेर मैले अर्काे हातले रोक्न खोज्दा त्यो हात पनि टोक्यो ।”
भुँडीमा प्वाल पारेको छ । छातीका विभिन्न ठाउँमा गोहीले टोकेको छ । खुट्टाभरि घाउ नै घाउ छ । देब्रे हात तीन ठाउँमा भाँचिएको छ । पाखुरा र नाडीमा पत्ता राखेको छ । गोहीको मुखबाट फुत्किएर नयाँ जीवन पाएका अर्जुन खुसी हुँदै भन्छन्, “ठीकै भाछ सञ्चो हुन लाछ अब घर जाने ।” अब कहिल्यै पौडी खेल्न नजाने उनी बताउँछन् ।
उनी सामान्य सुकुम्वासी परिवारका हुन् र सम्पत्तिका नाममा एक कट्ठा जमिन छ । त्यही पनि ऐलानी । घरको एउटा मात्रै छोरो, तीन छोरी र आमा फुलमायाँ अहिले १३ दिनदेखि छोराको उपचारमा चितवन मेडिकल कलेजमा छिन् । कलेजको अर्थाेपेडिक वार्डको २९६ नम्बर श्ययामा उनी छन् । अर्जुनकी दिदी सरिता पनि अस्पतालमै उनको हेरचाहमा छिन् । अहिलेसम्म करिब रु दुई लाख पैसा लागेको छ । नौ दिन आइसियुमा राखिएको थियो । एकदिन पोस्टअपमा राखेर चार दिनअघि अर्थाेमा सारिएको हो ।
औषधिको ऋण खोजेर नगद नै तिरे । अस्पतालको पैसा करिब रु डेढ लाख तिर्न बाँकी छ । अस्पतालको बिलको बिटो देखाउँदै आमा फूलमायाँ भन्छिन्, “यो पैसा कसरी तिर्नु ?” बुबा रामबहादुर मजदुरको काम गर्छन् । फूलमायाँ मेलापात । “म घरमै थिएँ, गोहीले तेरो छोरालाई टोक्यो, छोरो लिन जा भने गाउँलेले, त्यो सुन्दै ढलेछु, अनि मलाई थाहै भएन । भोलिपल्ट होस आयो र हस्पिटलको आइसियुमा छोरो छ भेट्न जाउँ भनेपछि अनि आ‘को,” फुलमायाँले भनिन् ।