
काठमाडौं । सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३को (३) बमोजिम जन्मकैद हुनेगरी फैसला भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालक रहेका तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई भने आदेशमात्रै पालन गरेको भन्दै अदालतले सफाइ दिएको छ ।
काभ्रेपलाञ्चोकको खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीया मैना सुनुवारलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको चारदिनपछि २०६० फागुन ५ गते सैनिक ब्यारेकमा चरम यातना दिएर हत्या गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मानवअधिकारकर्मीको लामो दबाबमा दुई वर्ष आठ महिनापछि उत्खनन गर्दा कङ्काल भेटिएको थियो ।
सुनुवारको हत्याको आरोपमा बबी खत्री, अमित पुन, सुनिल अधिकारी र सेनानी निरञ्जन बस्नेतलाई विपक्षी बनाई विसं २०६४ माघ ७ गते अभियोग दर्ता भएको थियो ।