रत्ननगर । चितवन जिल्लाका साविक तीन गाविसमा भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु गरिएको छ ।
चितवनको साविक गाविस सिद्धी, दारेचोक र लोथरका एक हजार ८४९ जना भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु भएको जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिद्धीमा २९४, लोथरमा ४४० र दारेचोकमा एक हजार ११५ जना भूकम्पपीडितलाई पहिलो चरणको अनुदान रकमका लागि सम्झौता थालिएको हो । सम्झौतालगत्तै भूकम्पपीडितले बैंक खाता खोलेपछि अनुदान रकम दिइने छ ।
उनीहरुका लागि अनुदान दिन जिल्लामा पुनःनिर्माण प्राधिकरणमार्फत रु नौ करोड ३० लाख रकम आइपुगेको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।
जिल्लामा कुल करिब १५ हजार भूकम्पपीडितको नाम आएको छ । त्यसमध्ये तीनठाउँको नामावली प्राधिकरणबाट आएकाले अनुदान सम्झौता सुरु भएको र अरु क्षेत्रका भूकम्पपीडितको नामावली आइसकेको छैन ।
माघ पहिलो साताबाट यहाँ पीडितको लगत सङ्कलन थालिएको थियो । चितवन जिल्लामा १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका थिए । तर यहाँ तथ्याङ्क विभागले घरघरै पुगेर विवरण सङ्कलन गरेको थियो ।