
एजेन्सी । अमेरिकाको नर्थ क्यारोलिनास्थित भुटानी शरणार्थीको ग्रोसरी स्टोरमा नश्लभेदी आक्रमण भएको छ । गत बिहीबार अपरिचित केही व्यक्तिहरुको समूहले सो स्टोरमा आगजनी प्रयास गरेको हो ।
चार्लोट्टे शहरस्थित भारतीयहरुको बाहुल्य रहेको क्षेत्रमा अवस्थित स्टोरमा आक्रमण गर्नेहरुले ‘ह्वाइट अमेरिका’ लेखिएको नोट छाडेका छन् ।
प्रहरीका अनुसार उनीहरुले शरणार्थी व्यापारीहरुलाई जहाँबाट आएको हो त्यहीँ नफर्किएमा ‘टर्चर’ गर्ने धम्कीसमेत दिएका थिए ।
आगोले स्टोरको अगाडिको ढोका जलेको छ । दमकल सो स्थानमा आउँदासम्म आगो निभिसकेको थियो । स्टोरको एउटा झ्याल ढुंगाले हानेर फुटाइएको छ । प्रहरीले यसलाई नश्लभेदी अपराधका रुपमा हेरेर अनुसन्धान गरिरहेको छ ।
स्टोरका मालिक कमल धिमालले भने, ‘हामी व्यवसायी बलियो सुरक्षा चाहन्छौ । अमेरिकी समुदायमा शरणार्थि र आप्रवासीहरुको महत्व यी मानिसहरुले बुझेका छैनन् ।’
भुटानी शरणार्थी धिमाल सन् २०१० मा नेपालबाट अमेरिका आएका थिए र २०१४ बाट आफ्नो व्यववसाय सुरु गरेको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।
सेन्ट्रल मार्केट एउटा नेपाली-इन्डियन स्टोर हो । जहाँ भारतीय प्रायद्विपका फास्ट फुड, घरायशी सामान, उपहार लगायतका सामग्रहरु विक्री गरिन्छ ।
चार्लोट्स अमेरिकामा आप्रवासीहरुको दोस्रो ठूलो घनत्व रहेको शहरमा पर्छ जहाँ १२ हजार ३ सय आप्रवासीहरु बसोबास गर्छन् ।
हाल अमेरिकामा भारतीय मूलका नागरिकहरुमाथि नश्लभेदी आक्रमणका खबरहरु बाहिर आइरहेका छन् ।