
काठमाण्डाैं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो ।
गत चैत ८ गतेदेखि आधार शिविरबाट क्याम्प–२ सम्म जाने बाटो निर्माणका लागि आठजना आइसफल डाक्टर खटिएका थिए । टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र र्भयाङको व्यवस्थापन गरेको छ ।
खराब मौसमका बाबजुद पनि बाटो निर्माण कार्य सम्पन्न गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिनुभयो । एसपिसिसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प–२ सम्म बाटो निर्माण गर्दै आएको छ ।
बाटो निर्माण गरेसँगै अब सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको राईले बताउनुभयो । बाटो बनाउनेमा आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, मिङमा छिरी शेर्पा, याङडा शेर्पा, मिङमा तेम्बा शेर्पा, फुछेतार शेर्पा र फुकितार शेर्पा रहेका छन् ।