
तस्वीरः रेडियाे कान्तिपुर
काठमाण्डाैं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ ।
पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ ।
बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको छ । यसैबीच,घटनाको जानकारी पाए लगत्तै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिनु भएको छ । घटनालगत्तै उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।
घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अबस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठाइसकिएको छ ।