नवलपरासी । शंकास्पद अवस्थामा मृत भेटिएकी राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनीषाको मृत्यु हत्याबाटै भएको यथेष्ट प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ ।
मनीषा नवलपरासी बर्दघाट नगरपालिका–८ स्थित पञ्चनगर गाउँस्थित आफ्नै घरमा गत जेठ १२ गते मृत अवस्थामा भेटिएकी थिइन् ।
मनीषाको मृत्युको घटना सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुमा बढी चर्चामा आउन थालेपछि सो बारे जानकारी दिन बुधवार जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा घटनाको अनुसन्धानमा अहिलेसम्म हत्या नै हो भन्ने बलियो प्रमाण जुटिनसकेको जानकारी दिइएको हो ।
घटनालाई प्राथमिकता दिँदै पत्रकार सम्मेलनमा पुगेका लुम्बिनी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले काठमाडौंमा गरिएको पोष्टमार्टम रिपोर्ट र जिल्लामा गरिएको पोलिग्राफ रिपोर्टमा हत्या नै हो भन्ने यथेष्ट प्रमाण फेला नपरेको बताए ।
त्यो बाहेक दुई जनाबीच भएको मोबाइल कल डिटेल्सको अनुसन्धान पनि भइरहेको छ । कल डिटेल्समा जेठ ७ गतेदेखि घटना भएको दिनसम्म् मनीषाले १ सय १६ कल र आशिषले १ सय २ कल एक आपसमा गरेको देखिएको छ ।