
विर्तामोड । बीरता जेसीजले यस वर्षको उत्कृष्ट नागरिक सम्मान कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
शुक्रवार विर्तामोडमा पत्रकार सम्मेलन गरी जेसीजले निर्णय सार्वजनिक गरेको हो । झापाको गौरादह स्थायी घर भएका कलाकार दम्पती भूकम्पपछि विनाश भएका भौतिक संरचनाको निर्माणमा सक्रिय छन् । धुर्मुस सुन्तली फाउण्डेसनमार्फत विपन्न समुदायका लागि एकीकृत वस्ती निर्माणमा रचनात्मक भूमिका खेलेको भन्दै उनीहरुलाई सो सम्मान दिन लागिएको हो ।
यस वर्षको सम्मान समाजसेवातर्फ समर्पित गर्ने निर्णय अनुसार बीरता जेसीजले उनीहरुलाई छानेको उत्कृष्ट नागरिक सम्मान समारोह समितिका संयोजक बिनोद बस्नेतले बताए ।
‘३ बैशाखमा उत्कृष्ट नागरिक सम्मान हस्तान्तरण गरिनेछ’, बस्नेतले भने, ‘उनीहरुको अभियानलाई सघाउन यसवर्ष केही नगद पनि दिँदैछौँ ।’ विपन्न नागरिकका बस्ती निर्माणमा सघाउने उद्देश्यले केही रकम पनि दिने निर्णय भएको संयोजक बस्नेतले बताए । प्रत्येक वर्ष बैशाख १ गते दिइँदै आएको सम्मान यसवर्ष ३ गतेका लागि सारिएको छ । १ गते कलाकार दम्पतीले महोत्तरीमा नवनिर्मित मुसहर वस्ती हस्तान्तरण गर्दैछन् ।