विर्तामोड । ‘नियमित दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने राष्ट्रिय नाराका साथ बुधबार झापामा अन्तर्राष्ट्रिय दूध दिवस मनाइएको छ । झापाका दूध उत्पादन तथा व्यवसायसँग आवद्ध अगुवाहरूको पहलमा झापामा पहिलोपल्ट दिवस मनाइएको हो ।
सन् २००१ देखि संसारभर जुन १ तारिखका दिन दूध दिवस मनाउने गरिएको छ । झापाको अग्रसेन भवनमा विशेष समारोहविच पशुपंक्षी विकास मन्त्री शान्ता मानवीको प्रमुख आतिथ्यमा दूध दिवसको कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले विश्वले नै दूधको महत्व बल्ल बुझ्न थालेको बताइन् ।
उनले पशु र मानवविच अपार सम्बन्ध भएको भन्दै कसैलाई पशुको संज्ञा दिएर गाली नगर्न सुझाव दिइन् । उनले भनिन्, ” पशुले नै हो मान्छेलाई बचाउने । चाहे दूध दिएर होस चाहे मासु ।”
झापाका दूध व्यवसायी, सरकारी निकाय र दूध उत्पादनसँग आवद्ध किसानहरूको भेलाले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय दिवस आयोजक समिति गठन गरेको छ ।
कार्यक्रममा दूध समारोह समिति झापाका संयोजक रामचन्द्र उप्रेतीले प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरि कार्यक्रममा पशु तथा दुग्ध उत्पादक संघ, झापाका लक्ष्मी प्रसाद सिटौलाले किसानका विभिन्न हकहित समाबेस गरिएको मागपत्र प्रस्तुत गरेका थिए भने दुधको महिमा आवश्यकता, दुधले खेलेको भूमिका र झापा जिल्लामा दूधको अवस्था र दूध उत्पादन क्षेत्रमा संचालित कार्यक्रमका बारेमा डा। माधव दहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यलयले आर्थिक वर्ष २०७२/७३ का उत्कृष्ट गाई फार्मलाई पुरस्कृत समेत गर्यो ।
त्यसैगरी धाइजन–६ मा रहेको रितिका डेरी उद्योगले दुई वटा सामाजिक संस्थामा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।
संस्थाका सञ्चालक राजन चिमरियाले आफ्नो बुबा घनश्याम चिमरियाको नाममा अक्षयकोष स्थापना गरेका हुन् । घनश्याम पुराना दूध व्यवसायी हुन् । विश्व दूध दिवसको सन्दर्भ पारेर उद्योगले विर्तामोडमा रहेको परोपकार वृद्धा आश्रम र तारा नमस्ते बालग्रामलाई अक्षयकोष सञ्चालनका लागि ३५/३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
दूध समारोह समिति झापाका संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि क्षेत्रीय पशु सेवा निर्देशनालय, बिराटनगरका क्षेत्रीय निर्देशक डा। सूदर्शन प्रसाद रेग्मी , प्रमुख जिल्ला अधिकारी मदन भुजेल, स्थानीय विकास अधिकारी खेमराज ओझा लगायतले बोलेका थिए।
दूध समारोह समितिकी सदस्य मिना ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कुमार सिंह खत्रीले गरेका थिए