बिर्तामोड । हरियो चियापत्तीको मूल्यको विषयलाई लिएर चिया उद्योगी र किसानबीचको विवाद बल्झिएको छ ।
नेपाल चिया उत्पादक संघसँग भएको पूर्व सहमति अनुसार आफूहरुले हरियो चियापत्तीको मूल्य नपाएको साना किसान झापाली चिया व्यवसायी संघको गुनासो छ । यसैबीच झापाका राजनीतिक दलका प्रमुख र साना किसान झापाली चिया व्यवसायी संघका पदाधिकारीबीच आज मंगलवार संवाद समूहको सचिवालय बिर्तामोडमा विवाद समाधान बारे छलफल भएको छ ।
छलफलले हरियो चिया पत्तीको मूल्य विवाद समाधानका लागि राजनीतिक दलका प्रमुखहरुको सुझावलाई मनन गर्दै सबै सरोकारवाला पक्षहरुबीच एक पक्षीय र बहुपक्षीय संवादमार्फत तत्काल निकास खोज्ने निर्णय गरेको छ ।
जसअनुसार उद्योगी,जिल्ला प्रशासन,चिया तथा कफी विकास बोर्ड,किसानका प्रतिनिधिसंग एकपक्षीय र बहुपक्षीय छलफल गरी समस्याको समाधान खोजिने बताइएको छ । स्थानीय शान्ति समिति झापाका संयोजक एवम् सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु आचार्य अग्निले पूर्व सहमति कार्यान्वयनमा दुबै पक्षलाई प्रतिबद्ध हुन आग्रह गरे ।
उनीहरुले नेपाल चिया तथा कफी विकास बोर्डको निर्णय अनुसार सहमति कार्यान्वयनमा अग्रसर हुन पनि उद्योगी तथा कृषकलाई आग्रह गरेका छन् । यद्यपि उद्योगी पक्षसँग पनि कुरा गरेर समतिको विन्दु पहिल्याउनुपर्ने उनीहरुको सुझाव छ । चिया कृषकको तर्फबाट संघका अध्यक्ष पूर्ण कार्की तथा प्रतिनिधिहरु भरत विमली, ईश्वरी दाहाल र सुदीप श्रेष्ठले कृषकका समस्या र माग राखेका थिए ।
उनीहरुले २०७२ साल असोज, कात्तिक र मंसीर महिनाको हरियो चियापत्तीको मूल्य बोर्डको निर्णय अनुसार पाउनुपर्ने र ०७२ फागुन महिनादेखि हरियो चियापत्तीको मूल्य नखोलिएकोले त्यो पनि तत्काल खोल्नुपर्ने माग राखेका छन् ।
बोर्डले गत बर्षको उक्त तीन महिनाको मूल्य क्रमशः रु. १२.८७, रु. ११.६५ र रु. १२.४७ निर्धारण गरेको थियो । १६% गुणस्तर अर्थात दुई पात एक सुईरालाई आधारमानी हरियो चियापत्तीको मूल्य बोर्डले निर्धारण गरेको बताइएको छ । बोर्डले निर्धारण गरेको मूल्य विना आधारको रहेको भन्दै चिया उत्पादक संघले आपत्ति जनाउँदै आफूखुशी मूल्य निर्धारण गरेको बताइएको छ । समस्या समाधानका लागि दुबै पक्षले तोकिएको मापदण्ड पूरा गर्दै सहमति कार्यान्वयन गर्नुपर्नेमा छलफलमा जोड दिइएको थियो ।
संवाद समूहको सचिवालयले कृषक र उद्योगी दुबै पक्षलाई समस्या समाधानको उपयुक्त विकल्पसहित लचिलो भई प्रस्तुत हुन र समस्या समाधानमा गम्भीर हुन आग्रह गरेको छ ।
छलफलको सहजीकरण सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।