
बिर्तामोड । सामाजिक सञ्जाल फेसबुकबाट सङ्गठित युवाको समूह एमकेके ग्रुपले प्रजातन्त्र दिवस सामाजिक काम गरेर मनाएको छ ।
एमकेके ग्रुपले झापा बिर्तामोडको सैनिकमोडस्थित मेची आँखा अस्पतालमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ । अस्पताल अगाडि दुई स्थानमा जेब्रा क्रसिङ बनाएर बस बिसौनी लेखिएको दुई वटा बोर्ड समेत राखेको समूहका आकाश उप्रेतीले जानकारी दिए । जेब्राक्रसिङ बनाउने कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको समेत सहभागिता रहेको थियो । त्यस्तै, समूहले सैनिकमोड र मेची आँखा अस्पताल आसपास सरसफाइ समेत गरेको छ ।

यसैबीच, समूहले मोहन विकको अध्यक्षतामा एमकेके ग्रुपको पाँच सदस्यीय समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश उप्रेती, सचिवमा आकाश उप्रेती, सहसचिव मनिष खड्का र कोषाध्यक्षमा राजु आरडी चयन भएका छन् । आगामी दिनमा पनि संस्थाले सामाजिक क्षेत्रमा विभिन्न काम गर्ने बताइएको छ ।