
धनगढी । राष्ट्रिय सतर्कता केन्द्रको टोलीले यहाँका सरकारी कार्यालयमा अनुपस्थित रहने र तोकिएको पोसाक नलगाउने ६९ जना कर्मचारीमाथि कारबाहीका लागि सिफारिस गरेको छ ।
विभिन्न ३० वटा कार्यालयमा दुई दिनसम्म गरिएको छड्के अनुगमनका क्रममा टोलीले कार्यालय समयमा अनुपस्थित रहने ५७ र तोकिएको पोसाक नलगाएका १२ जना पाइएकाले उनीहरुमाथि कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव यमप्रसाद भुसालले बताए ।
अनुगमनका क्रममा कार्यालय समयमा अनुपस्थित रहनेमा सबैभन्दा बढी सेती अञ्चल अस्पतालका २५ र त्यसपछि मालपोत कार्यालय कैलालीका १२ जना कर्मचारी रहेका छन् ।
केन्द्रको टोलीले मालपोत, नापी, जिल्ला जनस्वास्थ्य, जिल्ला वन, भूमिसुधार, नेपाल विद्युत् प्राधिकरण, कोष तथा लेखा नियन्त्रण, नेपाल टेलिकम, जिल्ला शिक्षा र सेती अञ्चल अस्पताललगायतका कार्यालयमा छड्के अनुगमन गरेको थियो ।