
काठमाडौं । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा आजदेखि ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ । पर्सी भारतमा निर्वाचनको मिति तोकिएकाले आज बेलुका ५ बजेदेखि फागुन ३ गतेसम्म गड्डाचौकी नाकामा नेपाल–भारत आवागमनमा रोक लगाउने निर्णय भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए ।
दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको छ । निर्वाचनका समयमा सो नाका भएर नेपाल–भारत वारपार गर्ने तेस्रो मुलुकका नागरिकलाई प्रमाणसहित आवतजावत गर्न दिने सहमतिसमेत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
साथै सवारीसाधनलाई सुचारु भएका वैधानिक नाकाहरूबाट मात्रै निर्वाचन अवधिभर सञ्चालन हुने प्रहरी उपरीक्षक चन्दले बताए ।