विर्तामोड । रेडियो विराट ८८.५ मेगाहर्ज र जिल्ला विकास समिति, झापाको सहकार्यमा भएको आदिवासी, जनजाति तथा दलित वर्ग लक्षित उद्घोषण, नेतृत्व र व्यक्तित्व विकास तालिम सकिएको छ । विर्तामोडस्थित होटल हिकोलामा ५ दिनसम्म तालिम भएको थियो ।
रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल मुख्य सहजकर्ता रहेको तालिममा ज्ञानेन्द्र निरौला, देवेन्द्र प्रसाईं, इन्द्रसिंह राजवंशी र गौरव पोखरेलले रेडियो उद्घोषण, नेतृत्व विकास, आदिवासी जनजातिका सवाल र प्रतिवेदन लेखनका विषयमा तालिम दिएका थिए । समापन कार्यक्रममा जिल्ला विकास समिति, झापाका कार्यक्रम अधिकृत हेमराज सेढाईंको प्रमुख आतिथ्य रहको थियो ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै अर्जुन भुजेल, सञ्जय ल्वागुन, सूर्य तामाङ्ग, मुना विष्ट लगायतले आदिवासी जनजाति एवम् दलित वर्ग लक्षित गरेर उद्घोषण, नेतृत्व एवम् व्यक्तित्व विकास कार्यक्रम गरिनु सराहनीय कार्य भएको बताए । साथै, उनीहरुले सिकेको सीपलाई व्यवाहारमा उतार्ने समेत प्रतिबद्धता व्यक्त गरे ।