
पोखरा । पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् ।
पत्रकारिताका माध्यमबाट समग्र पोखराको सामाजिक एवम् आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउनुहुने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ ।
पोखरा उपमहानगरपालिकाको २१ औँ स्थापना दिवस तथा वार्षिकोत्सवका उपलक्ष्यमा मंगलबार यहाँ आयोजित समारोहमा अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारीले उक्त पुरस्कारबाट पत्रकार कार्कीलाई सम्मान गरे ।
सो अवसरमा विभिन्न टोल विकास संस्था, नागरिक समाज, पोखरा उपमहानगरपालिकाका उत्कृष्ट एवम् पूर्वकर्मचारी तथा खेलाडीहलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बरालले कार्यालयले वार्षिकोत्सव मनाउँदा पुराना योजना सम्पन्न गरी नयाँ योजनाको घोषणामा जोड दिइनुपर्ने बताए ।
कार्की हाल बीबीसी नेपाली सेवा, पोखरा तथा पोखराबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक छन् ।