
भद्रपुर । स्मरण विधामा विश्व किर्तिमान कायम गरी गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल “मेमोरी किङ्ग” अर्पण शर्मा कट्टेललाई शनिबार बिहान ९ बजे देखि १२ बजे सम्म भव्य विजय र्याली सहित नगर परिक्रमा गरी राज्य मन्त्री श्रीप्रसाद जवेगु द्वारा सम्मान गरिएको छ ।
मेची क्यामपस युवा परिवारले आयोजना गरेको सो भव्य कार्यक्रमको अध्यक्षता विशाल आचार्यले गरेका थिए ।
नगर परिक्रमा अर्पण शर्मा कट्टेलको निजी निवास हस्पिटल चोक, भद्रपुर-८ बाट शुरु भई गणेश मन्दिर हुदै नगरपालिका कार्यालय, भद्रपुर बजार, भानु नगर, संगम चोक, सगरमाथा चोक हुदै चन्द्रगडी बजार भएर संयुक्त वडा कार्यालय, भद्रपुरमा गई परिक्रमा समापन भई राज्य मन्त्री श्रीप्रसाद जवेगु द्वारा दोसल्ला ओढाई सम्मान गरिएको छ ।
उनलाई सजी सजाउ गाडीमा राखेर बाजा गाजा सहित फूलमाला अबिरद्वारा बधाई तथा शुभकामना दिई नगर परिक्रमा गराइएको थियो ।
शर्माले १ मिनटमा ४२ वटा वस्तुको क्रम सम्झिएर गिनिज बुकमा नाम लेखाएका हुन् ।