
काठमाडौं । आर्थिक अनुदानको अभावका कारण संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) नेपालले सहयोग कम गर्न बाध्य भए पनि जोखिमपूर्ण अवस्थामा रहेका शरणार्थीका लागि भने खाद्यान्न सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
डब्लुएफपीले सन् २०१७ को सुरुवातसँगै आर्थिक अनुदानको चरम अभावका कारण नेपालमा रहेका भुटानी शरणार्थीका लागि उपलब्ध भइरहेको खाद्यान्नको मात्रा कम गर्न बाध्य भएको जनाएको छ । मानवीय सहायतामाथि निर्भर गर्ने भुटानबाट आएका शराणार्थीको सङ्ख्या हाल करिब ११ हजार रहेको छ ।
वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र एकल आमासहितका सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेका करिब तीन हजार १०० शरणार्थीका लागि भने डब्लुएफपीले पूर्ण मात्राको खाद्यान्न उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने सो कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।
डब्लुएफपीकी प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले खाद्यान्नको हिसाबले सबैभन्दा असुरक्षित र जोखिमपूर्ण अवस्थामा रहेका शरणार्थीलाई प्राप्त पूर्ण सहयोगलाई निरन्तरता दिने बताएको विज्ञप्तिमा उल्लेख छ ।
डब्लुएफपीले पूर्वी नेपालका शिविरमा बसोबास गर्ने भुटानी शरणार्थीलाई सन् १९९२ देखि खाद्यान्न सहयोग उपलब्ध गराउँदै आइरहेको डब्लुएफपी नेपालका सञ्चार अधिकृत शीताष्मा थापाले जानकारी दिइन् ।