
काठमाडौं । तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझा शुक्रबार पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो ।
४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो ।
इटहरी घर भएका ओझा कुनै बेलाका चर्चित गायक र हास्य कलाकारसमेत हुन् । उनी काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले जनाएको छ । अदालतले कैद फैसला गरेलगत्तै ओझा फरार थिए ।