
काठमाडौं । देशका विभिन्न क्षेत्रमा भएका दुर्घटनामा ५ जनाको मृत्युभएको छ भने २७ जना घाइते भएका छन् । प्युठानमा एक्साभेटर पल्टिएर किच्दा ३ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाईते भएका छन् ।
प्युठानको दाङ्गवाङ्ग ६ कोलवोटमा अर्घाखाँची जोड्ने सडकको मर्मत गरिरहेको एक्साभेटर डाँडा चढ्ने क्रममा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोहि स्थानका २० वर्षिय शेषकान्त आचार्य, १२ वर्षका गेहेन्द्रबहादुर गाह र १७ वर्षका एक्साभेटरका सहयोगी दिपक गाहको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । ना १ क ३३१९ नम्बरको एक्साभेटर पल्टिएर घाईते भएका ६ जनाको भैरहवामा उपचार भैरहेको छ ।
उता, नवलपरासीको रामग्राम नगरपालिका अन्तर्गत पुर्वपश्चिम राजमार्गमा जिप दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ । कपिल्वस्तुबाट त्रिवेणीधामका लागी तिर्थयात्री बोकेको जिप दुर्घटना हुँदा कपिलवस्तु शिवनगर ९ का चालक राकेश कुमालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनको भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाईते भएका १७ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
त्यस्तै, सप्तरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको मधुपट्टीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प २१९७ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ५ त ८४३० नंको ट्याक्टरमा ठोकिएको थियो । मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा जिल्लाको गोविन्दपुर–२ बस्ने ४० वर्षीय घुरन यादव रहेको प्रहरीले जनाएको छ ।
यस्तै, फत्तेपुर–कञ्चनपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोसी नगरपालिका–४ मा बिजुलीको पोलमा ट्रक ठोकिँदा एकै परिवारका तीनसहित चारजना घाइते भएका छन् ।